बुधबार, पुष २, २०८२

बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

नेपालखोज २०८१ फागुन २० गते १२:०७

काठमाडौं । कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ ।

‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय, परिस्थिति र तिनका वास्तविक अवस्थाको वर्णन गर्ने भावात्मक रङ तरङहरु ‘क्यानभास’मा सजाएका छन् । रङका तरङलाई आवाजको अनुभव दिलाउने कोसिस गरेको उनले सुनाए । उनका सिर्जनामा उज्यालोको खोजी, अटल माया, जनजीवन, सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देशहरु देख्न सकिन्छ । जसरी क्यानभासमा सयौँ थरी रङहरुले फरक मनोविज्ञानको भाषा बोल्छन् ।

त्यसैगरी ती रङहरुमा कुची खेलाएर जीवनका अनगिन्ती भावहरु मिसाउन उनी सफल भएका छन् । कलाकार चन्दले आत्मिक रङहरुको बहावलाई रङहरुको उतारचढावमार्फत छाम्ने प्रयत्न गरेका छन् । स्वतन्त्रता अनि आत्माको रङदेखि प्रेमका रङसम्मका सुन्दर चरित्रका अनेक चित्रको रस्वादन गर्न भने नेपाल कलापरिषद् बबरमहल पुग्नैपर्छ । ‘फ्लुड आर्ट’को अमूर्त धारहरुको वर्चस्व रहेको उनका कलाहरुमा रङहरु अनेक दिशामा रङ्गीन भएर बग्दै गरेको देखिन्छ ।

कला पारखीहरुले आफ्ना मनोदशाको बगाई कलाकृतिमा भेट्न सक्छन् । कलाकृतिमध्येको एक स्वतन्त्रता शीर्षकको शीर्ष कला छ । जहाँ इन्द्रेणीका सातै रङहरुका अनेक घुम्तीहरुबीच एक युवती स्वतन्त्र उडान भर्दै गरेको देखिन्छन् । यसले आम महिलाहरुको जीवनको वास्तविकता उद्घोष गर्छ । बबरमहलमा यही फागुन २२ गतेसम्म रहने दोस्रो एकल कला प्रदर्शनीबारे कलाकार कृति शाह भने, ‘महिला हुन सजिलो कहाँ छ र कति हो कति रङका साङ्लाहरुले उसलाई बाँधिरहेका हुन्छन्, त्यसबाट माथि उठेर सबैका अघि पहिचान खोज्नु भीडमा ठूलो स्वतन्त्रताको माग गर्नु जस्तै हो ।’

‘दियो र उज्यालो’ शीर्षकको उनका अर्को फ्लुड आर्टले अँध्यारोमा बग्दै गरेको दीपको उज्यालोको कथा बोल्छ । मानौँ सारा जगत् अन्धकारमय छ तर आशाको सानो दियो अझै जाज्वल्यमान छ र अँध्यारोलाई पराजित गर्ने अर्को महाभारत युद्धको तयारी गर्दैछ । ‘फेस्टिभल’ शीर्षकका कलाका शृङ्खलाहरुले रमणीय रङका बहावहरुले समाजमा व्याप्त अनेक खुसीका रङ्गीन सपनाको झल्को दिन्छ ।

नेपालमा होली पर्व नजिकिँदै गर्दाको आभास गराउँछ । रातो, पहेँलो, हरियो, नीलो अनि तिनमा मिसिएका अरू धेरै रङहरु जसले हावामा मिसिएरै होलिका नामको नकारात्मक ऊर्जा मेटाउन कोसिस गरिरहेका देखिन्छन् । अमूर्त र मूर्त भावको मिश्रणका रुपमा रहेको पारसमणि शीर्षकको उनको कलाले मानिसले आफूभित्रको अथाह शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ । भौतिकतामा लिप्त मानिसहरु धन, दौलत, मणिमाणिक्यको आशमा अन्यत्र भौँतारिरहेको वर्तमान परिदृश्यले उनका कलालाई सबल बनाएको छ ।

प्रतिक्रिया