बुधबार, पुष २, २०८२

‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’

नेपालखोज २०८१ फागुन २१ गते २०:०६

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकले प्रदेश सरकारलाई बजेट निर्माणमा सहयोग पुग्ने बताए ।

कोशी प्रदेश योजना आयोगद्वारा आयोजित ‘कोशी प्रदेश स्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तक्र्रिया’को आज यहाँ उद्घाटन गर्दै उनले योजना बैंकको अवधारणले योजना समावेश व्यवस्थित भइ योजनाहरुको असन्तुलन घट्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारको स्रोतसँगै बैंकको योजना पनि घटबढ भइरहन्छ ।’ उनले रु ५० लाख भन्दा कमको योजना बैंकमा समावेश नगर्न कोशी प्रदेश सभाका सदस्यहरुलाई आग्रह गरे । कोशी प्रदेश सरकार र स्वीस सरकारको संयुक्त लगानीमा प्रदेशमा चार वटा पदमार्ग निर्माण हुने जानकारी उनले दिए ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने अनुदान कटौती हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै सरकार आन्तरिक आय बढाउन सम्भावित क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पर्यटनको नाममा जथाभावी खर्च गर्ने बानी हटाउनुपर्ने बताउँदै चोर बाटोबाट योजना समावेश नहोस् भनी योजना बैंकको व्यवस्था गरेको जानकारी दिए ।

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आय आर्जन गर्न सकिने क्षेत्रमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरे । सो कार्यक्रममा आयोगका सचिव मिमाँस अधिकारीले प्रदेश आयोजना बैंक व्यवस्थापन २०८१ को कार्यविधि सम्बन्धी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपालले प्रदेश स्तरीय आयोजनाको पहिचान तथा आयोजना तर्जुमा गोष्ठीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया