शनिबार, वैशाख १३, २०८२

श्री १००८ खप्तड बाबा

नेपालखोज २०८१ फागुन २२ गते ५:२०

उन्नति – मार्गको मूल – मन्त्र शुभ – सङ्कल्प हो । सङ्कल्पबाट नै यस जगत्को उत्पत्ति र स्थिति छ । यो रहस्य जसलाई ज्ञान भएको छ त्यो उन्नतिको मार्गमा धेरै शीघ्रताले चल्न सक्छ । मार्गमा कठिनाइहरू धेरै आउँछन् तर ती कठिनाइहरू उसलाई हानिकारक हुँदैनन् । उसलाई यस लोकमा दुःखले सताउँदैन । उसलाई यो लोक र परलोक दुवै सुखदायी हुन जान्छन् ।

एक सज्जनले एक महात्माको अगाडि गएर भने- ‘संसारले हामीलाई समातेर राखेको छ । यसले छाड्दैन’ । ‘महात्माले हाँसेर भने’ ए ! त्यसो ? हिँड, भइहाल्यो एकछिन घुमेर आऔं । ‘घुम्न जाँदा केही टाढा पुगेर महात्मा एउटा रूखलाई दुबै हातले बेरेर च्याप्दै पुकार्न लागे- ‘ लौन नि ! रूखले मलाई जकडिराखेको छ । मलाई छुटाऊ । ‘अनि ती सज्जनले भने ‘रूखले पनि कहिल्यै कसैलाई समात्दछ ! रूखलाई त तपाईंले नै समातिरहनुभएको छ । आफ्नो हातबाट रूखलाई छुटाउनुस् ।

‘अनि महात्माले भन्नुभयो- ‘संसार पनि कसैलाई समात्दैन । तिमी आफैं समात्न छाड । संसारको कुनै वस्तुले हामीलाई समात्दैन, समात्दछ त अन्त : करणले । हामी नसमात्ने हौं, न छाड्ने हौं । हामी न चोर हौं, न पुलिस । हामी दुवैका साक्षी हौं । ‘ एको देवः सर्वभूतेषु गूढः सर्वव्यापी सर्वभूतान्तरात्मा । कर्माध्यक्षः सर्वभूताधिवासः साक्षी चेतः केवलो निर्गुणश्च ॥ 

अर्थात् हाम्रा प्रभु नै ती प्रसिद्ध देव हुन् जो सबै प्राणीहरूमा लुकेर रहेका छन् , सर्वत्र सबै व्याप्त छन् , सबै जीवहरूको अन्तरात्मा हुन् , कर्महरूका अध्यक्ष हुन् , सबै भुतहरुका अधिष्ठान  हुन् , सबैका साक्षी हुन् , सबैलाई चेतना दिने हुन् , केवल छन् र निर्गुण छन् । तत् सृष्ट्वा तदेवाऽनुप्रा विशत् । अर्थात् प्रभुले नै त यस विश्वको रचना गरेर यसमा प्रवेश गरे । स एव इह प्रविष्ट श्रा नखाग्रेभ्यः ।

अर्थात् प्रभु त हाम्रो शरीरमा गोडाको नङदेखि शिखासम्म अनुप्रविष्ट छन् । सर्वेषां भूतानामन्तरः पुरुषः स म आत्मेति । अर्थात् सम्पूर्ण प्राणीहरूभित्र जुन पुरुष विराजमान छ , ती हाम्रा अन्तरात्मस्वरूप प्रभु नै त हुन् । पुरुष एवेदं सर्व यद्भूतं यच्च भाव्यम् । अर्थात् भूत , वर्तमान , भविष्यको समस्त जगत् हाम्रो प्रभुको नै स्वरूप त हो ।

प्रतिक्रिया