‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’

काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताएकी छन् ।
आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौं उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताए ।
उनले आफूले यसका लागि काठमाडौं महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताए । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उनले आग्रह गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताए ।
त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रहेको छ ।
कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौलालगायत सहभागी थिए । अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २० गते मङ्गलबारदेखि सुरू भएको ‘महिला चलचित्र महोत्सव’ मा विभिन्न चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया गरिएको थियो । रासस








प्रतिक्रिया