पाँचधारेमा स्तूपा निर्माण

भोजपुर । भोजपुरको टेम्केमैयुङ-९ पाँचधारेमा स्तूपा निर्माण गरिएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्यले यहाँ स्तूपा निर्माण गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाखमा बौद्धस्तूपा निर्माण भइरहेको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । काठमाडौंमा रहेको बौद्धस्तूपाको जस्तै आकारमा निर्माण हुने यो स्तूपा खोलुखुम्बुबाट दक्ष कालीगड ल्याएर निर्माणको काम भइरहेको उनको भनाइ छ ।
पर्यटकीय क्षेत्रको विकाससँगै धार्मिक सहिष्णुता कायम गर्न बौद्ध धर्म मान्ने समुदायलाई लक्षित गरेर स्तूपा निर्माण भइरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए ।
पाँचधारेमा ‘पाँच धाम’ निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको अध्यक्ष माङ्गपाहाङ्गले बताए । सबै समुदायको अपनत्व हुने गरी यहाँका संरचना निर्माण भइरहेका छन् । किरात समुदायलाई लक्षित गरेर पाँचधारेमा नै करिब ८० लाख रुपैयाँ लागतमा किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ ।
अब हिन्दू समुदायलाई लक्षित गरेर पशुपति मन्दिर निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।
स्थानीय सौगात राईले पाँचधारे पोखरी तथा किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षणसँगै पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकको आवगमन बढेको बताए । टेम्केमैयुङ गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताए । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कृषि र पर्यटनलाई स्थानीयवासीको जीविकोपार्जनसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया