‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् ।
शनिबार मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनु हुँदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पु¥याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए । नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारालाई कार्यान्वयन गर्दै प्रत्येक नागरिकका लागि गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवको भनाई छ ।
नेपाल सरकारले खानेपानी सेवालाई अझ प्रभावकारी, दिगो, र सर्वसुलभ बनाउने प्रतिबद्धता लिएको समेत मन्त्री यादवले बताए । आयोजना शिलान्यास गर्ने कार्यमा सहयोग गर्ने तथा आजको कार्यक्रममा सहभागि जनप्रतिनिधि, स्थानीय समुदाय, प्राविधिक विज्ञ, तथा खानेपानी क्षेत्रमा समर्पित सबैलाई मन्त्री यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
सोही कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाको लागि यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमती प्राप्त भई निर्माण कार्य शुरु हुने भएको जानकारी दिए ।

प्रतिक्रिया