रोङका एक सय २१ किसान ‘गुरु किसान’

इलाम । रोङ गाउँपालिकाले एक सय २१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखीकरण तालिम दिएको छ । करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा ती किसानलाई छनौट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले उत्पादकत्वमा प्रतिस्पर्धा गराउन उक्त कार्यक्रम ल्याएको जानकारी दिए ।
छवटै वडामा वडास्तरीय अभिमुखीकरण तालिम चलाएको पालिकाले छानिएकालाई ‘गुरु किसान’ के हो रु उनीहरूको काम, कर्तव्य, अधिकार र अबको भूमिकाका सम्बन्धमा तालिम दिएको जनाएको छ । अहिले एक सय २१ जना छानिएको छ, यो सङ्ख्या क्रमशः वृद्धि हुन्छ, गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो । यो अवधारणा नेपालमा नै पहिलो भएको गाउँपालिकाको दाबी छ । यही चैत ७ गते एक कार्यक्रमका बीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने स्याङ्बोले बताए ।
रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदोरहेछ, किसान राईले भने, आउँदो वर्ष यही खेतीमा अझ मेहेनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।
यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।
पहिलो चरणमा छनोट भएकाहरूलाई अभिमुखीकरण तालिम दिएको उपाध्यक्ष विष्णुमाया भुजेलले बताए । किसानलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले गुरु किसान कार्यक्रम ल्याइएको उपाध्यक्ष भुजेलको भनाइ छ । उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष प्राथमिकता दिँदै सञ्चालन गरिएको गुरु किसान परियोजनाले दक्ष एवं अग्रज किसान छनोट गरेर उनीहरूलाई पुलको रूपमा उपयोग गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ ।
किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन यो अवधारणा ल्याइएको अध्यक्ष स्याङ्बोको भनाइ छ । उत्पादकत्वमा ख्याल गर्ने मेहेनती किसान, सबै व्ययवस्थापनलाई चुस्त राख्ने किसान, क्वालिटी, क्वान्टिटी र कन्टिन्यु प्रोडक्सन गर्ने किसानलाई गुरु किसान भनेका छौँ, उनले भने, आफूले जानेको सीप छिमेकीलाई सिकाउनेलाई गुरु किसान भनिएको हो । अब लगानी गर्दा गुरु किसानमार्फत नै गरिन्छ । अहिले एक सय २१ गुरु किसानबाट सुरु गरेका छौँ, भोलि एक हजार पुग्न सक्छ ।
किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताए । पालिकाले गुरु किसानलाई लागो, पहिचान खुल्ने पहिरन, उनीहरूले अध्ययन गर्ने पुस्तक, बोक्ने ब्याग, अभिलेख डायरी दिएको छ । व्यावसायिक तालिममा जोडेर उनीहरूको क्षमता विकासमा टेवा पुर्याउने काम गर्छौँ । प्रविधि हस्तान्तरणसहित उत्पादकत्वमा प्रतिस्पर्धा गराउँछौँ, उपाध्यक्ष भुजेलले भने, कार्यक्रमअन्तर्गत थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहेनती र अगुवा किसानलाई पालिकाले सम्मान गर्ने कार्ययोजना छ ।
प्रतिक्रिया