महिला नेतृत्व शिखर सम्मेलन आगामी चैतमा

काठमाडौं । आगामी चैतको ३ गते काठमाडौंमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो ।
परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उक्त शिखर सम्मेलन आयोजनाबारे जानकारी दिए । उनकाअनुसार सम्मेलनमा प्रविधि र नवप्रवर्तन, दिगो कृषिमा महिला, महिलामा लगानीलगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने अध्यक्ष अग्रवालले बताए ।
‘यस सम्मेलन वर्तमान एवं सफल उदाहरणमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्नेछ, परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले भने, ‘छलफल, अन्तरक्रियाबाट तत्काल उपलब्धि मिल्ने हैन । सम्मेलनबाट प्राप्त सुझाव र प्रतिवेदनले सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।
परिसङ्घले निजी क्षेत्रको उत्पादनमूलक एवं सेवामुलक संस्थाको प्रतिनिधिका रूपमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासमा सरकारसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया