एघारौँ नेपाल भौगर्भिक सम्मेलनमा ७५ वटा कार्यपत्रमाथि छलफल

काठमाडौं । एघारौँ नेपाल भौगर्भिक सम्मेलनमा ७५ वटा कार्यपत्र प्रस्तुत गरी छलफल भएको छ । चौध वटा सत्रमा प्रस्तुत भएका ७५ मध्ये ६० वटा नेपाली भूगर्भविद् र १५ वटा विदेशी भूगर्भविद्को कार्यपत्र रहेको नेपाल भौगर्भिक समाजले जनाएको छ । समाजले सोमबारदेखि आयोजना गरेको दुई दिने सम्मेलन आज समापन भएको हो ।
सम्मेलनमा जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्ने, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवको आदानप्रदान भएको समाजका अध्यक्ष चुर्णबहादुर ओलीले बताए ।
सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रलाई राखेर यसै वर्ष जर्नल प्रकाशित गरिने भएको छ । जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उनको भनाइ थियो ।
सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदानप्रदान, भूगर्भीय अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धि र तिनको प्रयोगसम्बन्धमा विमर्श भएको अध्यक्ष ओलीले सुनाए ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागिता रहेको थियो ।
सम्मेलनमा दुई सय जना भूगर्भविद् अन्य क्षेत्रका एक सय जना गरी तीन सयजना विज्ञको सहभागिता रहेको सम्मेलन संयोजक प्राडा खुमनारायण पौडेलले राससलाई जानकारी दिए ।
सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे विचार आदानप्रदान भएको उनले जानकारी दिए । प्रस्तुत भएका अनुसन्धानपत्र र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे सम्मेलनमा विस्तृत छलफल भएको थियो ।
विसं २०५६ देखि सम्मेलन प्रत्येक दुई वर्षमा समाजको सक्रियतामा सम्मेलन आयोजना हुने गरेको छ । यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने समाजको प्रतिबद्धता छ ।
सम्मेलनमा बेलायती प्राध्यापक माइक सरलाई समाजको मानार्थ सदस्यता प्रदान गरिएको थियो । यसैगरी नेपाली प्राध्यापक जगदीश्वरनाथ श्रेष्ठलाई पनि मानार्थ सदस्यता दिइएको समाजले जनाएको छ ।
समाजका हाल एक हजार दुई सय सदस्य रहेका छन् । त्यसमध्ये एक हजार जना नेपाली र दुई सय जना विदेशी सदस्य रहेको जनाइएको छ । नेपालमा भौगर्भिक अध्ययन, अनुसन्धानका लागि विदेशीले समाजको सदस्यता लिने गरेका छन् ।
समाजले आयोजना गरेको ११औँ सम्मेलनमा टोनी हेगन मेमोरियल फाउन्डेसनको सहयोगमा पहिलो पटक टोनी हेगनमेमोरियल अवार्ड पनि वितरण गरिएको छ । यो अवार्ड यस वर्ष डा विशालनाथ उप्रेतीलाई दिइएको हो ।
कार्यक्रममा डा टोनी हेगनले पश्चिम नेपालमा गर्नुभएको भौगर्भिक अध्ययन, अनुसन्धानका विषय समेटिएको पुस्तक ‘जियोलोजिकल सर्वे अफ नेपाल भोलुम ३’ पनि सार्वजनिक गरिएको थियो । रासस








प्रतिक्रिया