एनआरएनको ‘बृहत् एकताʼ संवाद सम्पन्न, अक्टोवरमा महाधिवेशन गर्न एनआरएनए पूर्वअध्यक्ष तथा संस्थापक प्रतिबद्ध

नेपालखोज २०८१ फागुन २८ गते १७:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् ।

संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकले दिनुभएको हो ।

राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताको थियो । गैर आवासीय नेपाली संघद्वारा मंगलबार (११ मार्च २०२५ ) भर्चुएल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गराउँदै सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे । वास्तविक एकताको महाधिवेशनमा मात्रै आफु सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने उनले स्पष्ट पारे ।

एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछानेले २०२३-२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्र मन्त्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिए ।

एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन सुझाए ।

एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे । एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले एकताको सन्देश अन्तरवार्तामा हैन, व्यवहारमा देखाउनु पर्ने बताए ।

त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा महाअधिवेशन र चुनाव गर्न सबै पक्षसंग संवाद गरेर अगाडी बढ्न सुझाव दिए । एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफुले विगतमा बलिदान गरेको स्मरण गराउँदै संस्थाको हितलाई सर्वोच्च ठान्नुपर्नेमा जोड दिए ।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गरे । आफूले जहिलेपनि कानूनतः काम गरेको र आगामी दिनमापनि वैधानिक रुपमै आफूले अघि बढ्ने उनको भनाई थियो ।

प्रतिक्रिया