रङहरुको पर्व फागुः भक्तपुरमा पृथक ढङ्गले मनाइँदैं

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्ला र शुक्रबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ धुमधामले मनाइँदै छ । एकापसमा आत्मियताका साथ रङ दलेर खुसियालीका साथ फागु पर्व मनाइन्छ ।
सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभावका साथ आफन्तजन एवं साथीसङ्गीसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने पर्व भएकाले फागुलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वका रूपमा पनि लिइन्छ । फागुलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको पर्वको रूपमा समेत लिइन्छ ।
फागु पर्वसम्बन्धी विभिन्न धार्मिक कथन, किंवदन्ती पाइएता पनि नेवार समूदायले भने फागु पर्वलाई पृथक ढंगले मनाउने गर्दछन् । नेवार समूदायमा प्रचलित फागुसम्बन्धी लोकभाकाले फागु पर्वलाई नेवार समूदायले प्रेम र यौनको प्रतिकका रूपमा मनाउने गरेको पाइन्छ । साथै यस दिन नेवार समूदायमा प्रचलित दाफा भजन खलः, धिमे, बाँसुरीलगायतका विभिन्न बाजा खलः एवम् गुठीहरुले आफ्ना बाजागाजाको पुजा गरी फागु पर्व मनाउने प्रचलन पनि रहेको छ ।
होलीया मेला, मय्जू मस्युला
अविर भचाः नः, तये मज्युला
नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागुसम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीलाई अविर अलिकति पनि दल्न नहुने हो र रु’ भन्ने भाव झल्काउँछ ।
‘अबिरया होली, तचँयाला ल्यासे
अबिरं छंगु ख्वाः हिसि दय्काबि’
लोककथामा आधारित नेपाल भाषाको चलचित्र ‘सिलु’को यो गीतको अंशले पनि राम्री युवतीलाई ‘अबिरको होली खेल्दा पनि किन रिसाएको, अबिरले तिम्रो अनुहार झन् राम्रो बनाइदिन्छु’ भन्ने अर्थ बोकेको छ ।
फागु पर्व बसन्त ऋतुको आगमनसँगै मनाइने रङ र खुसीको पर्व हो । विशेष गरी सप्तरंगी रङमा रंगिएर एकापसमा खुसी साटासाट गर्ने र आपसको वैरभाव एवम् रिसराग बिर्सेर मनाउने यो पर्व वास्तवमा एउटा उन्मत्त पर्व हो ।
फागुन शुक्ल पूर्णिमाका दिन धुमधामले मनाउने यो पर्वको सुरुवात भने फागुन शुक्ल पक्ष अष्टमीका दिन सुरु हुन्छ । अष्टमीका दिन काठमाडौंको बसन्तपुर डबली अघिको चोकमा सप्तरंगी कपडाका ध्वजापताकासहितको चीर ठड्याएर गुठियारले एकापसमा अविर दलेर फागु पर्व सुरु भएको जनाउ दिन्छ ।
सोही दिन भक्तपुरको तचपालस्थित भिमसेन मन्दिरको पाटीमा काठको बडेमानको पुरुष जनइन्द्रिय अंग लिङ्गको प्रदर्शन गरेर फागु पर्व सुरु भएको जनाउ दिन्छ । लिङ्गको प्रदर्शनसँगै गुठियारहरु पाटीमा बसेर
‘भिसीँ द्यः या लजः ख्वगं, लव् वान ला ल्यासे,
बिस्यू वने म्वायेक स्वः झायाः लाः’
अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भन्ने भावको परम्परागत नेवारी लोकभाका गाएर बस्नुले भक्तपुरमा मनाइने फागु पर्वलाई झन पृथक बनाएको छ । यसले फागु पर्वलाई यौनसँग जोड्ने गरेको पाइन्छ । त्यसैले भक्तपुरमा फागु पर्वलाई प्रेम र यौनको प्रतिकको पर्वका रूपमा मनाइने गरिन्छ ।
बसन्त ऋतुको आगमनसँगै बोट बिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुल फुल्न थालेसँगै मानिसको मन मस्तिष्कसमेतमा एक खालको तरंग पैदा गर्ने बेलामा एकापसमा रङको होली खेलेर मनाउने पर्व फागु प्रेम र यौनको प्रतिक बन्नु स्वभाविक भएको संस्कृतिविद्हरुको भनाइ रहेको छ । बसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागु पर्वमा यौनरसयुक्त गित प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताए ।
उनका अनुसार १७औँ शताब्दीदेखि नै कृषि पेशामा संलग्न उपत्यकावासी बसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुसर्दमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालिन समयमा मनोरञ्जनको साधन स्रोत भनेकै चाडपर्व हुने भएकाले फागुलाई प्रेम र यौनको प्रतिकका रूपमा मनाउन थालिएको हो । फागुमा बढी यौनरस युक्त संगित गुञ्जनु पनि यसैको उदाहरण भएको उनले बताए । उहाँले फागुमा यौनरसयुक्त लोकभाका गुञ्जने भएता पनि फागु अश्लिल पर्व भने नभएको बताए । उनले यसलाई विशुद्ध जिवन्त साँस्कृतिक पर्वका रूपमा लिनुपर्ने बताए ।
फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवा युवती, सबै जातजाती फागुको रङमा रंगिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताए । यसैगरी संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचिनकालदेखि नै समाज पुरुष प्रधानको रूपमा विकास भएसँगै महिलालाई यौनको प्रतिकका रूपमा लिने र महिलालाई यौन चाहना पुरा गर्ने साधनको रूपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा प्रेम र यौनरसयुक्त लोकभाका गुञ्जने गरेको बताए ।
फागु विजयको हर्षोल्लासको रूपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैभित्र हराउने पर्व तथा तनमन रङगाउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पुजा गर्ने तथा बाजागाजा सहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गर्ने प्रचलन पनि रहेको छ । यसले भक्तपुरमा मनाइने फागु पर्वलाई साँस्कृतिक पर्वका रूपमा पनि विकास गरेको छ ।








प्रतिक्रिया