मंगलबार, पुष १, २०८२

जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

नेपालखोज २०८१ फागुन २९ गते १४:०३

भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौंमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो । राणाकालमा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौं र ललितपुरमा नरहे पनि भक्तपुरमा भने अझै पनि सेवाकालीन रूपमै रहेको छ ।

गृहमन्त्रालयअन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले देशभरका सात सय ५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि काठमाडौंस्थित जुद्ध बारुण यन्त्र कार्यालयले काठमाडौं महानगरपालिकालाई र ललितपुरस्थित जुद्ध बारुणयन्त्र कार्यालयले ललितपुर महानगरपालिकालाई दमकल हस्तान्तरण गरेका थिए । तर भक्तपुर नगरपालिकाले भने जुद्ध बारुण यन्त्रका दमकल आफूले जिम्मेवारी नलिने बताए पनि निकै समय अन्योलको अवस्थामा रहेको भक्तपुर कार्यालयमा मध्पुरथिमि नगरपालिकाले एक, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा एक गरी दुईवटा दमकल खरिद गरी कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

ती तीनवटै पालिकाले दमकलसँगै हरेक वर्ष ती दमकलको मर्मतसम्भार र लाग्ने आवश्यक इन्धनको समेत व्यवस्था गर्दै आए पनि भक्तपुर नगरपालिकाले भने सेवा लिए पनि कुनै दायित्व बहन भने गरेको छैन । २००१ सालमा तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा ल्याएको जुद्ध बारुणयन्त्रले स्थापनाको ८१ वर्षमा बल्ल सुविधा सम्पन्न नयाँ भवन पाएको छ ।

जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेल यहाँको दमकललाई पनि भक्तपुर नगरपालिकालाई हस्तान्तण गर्न खोजेको, पटकपटक तत्कालीन प्रमुख जिल्ला अधिकारीसँगको नेतृत्वमा नगरपालिकासँग छलफल गर्दा पनि भक्तपुर नगरपालिकाले दमकलको जिम्मेवारी लिन नमानेपछि गृह मन्त्रालयअन्तर्गत नै भक्तपुर दमकलले जुद्ध वारुणयन्त्रको इतिहास जीवन्त राखेको बताए ।

भक्तपुरको दमकललाई गबृहमन्त्रालय, मातहत कार्यालय, सहयोग गर्ने नगरपालिका, सहयोगी विभिन्न सङ्घसंस्था एवं प्रतिष्ठान, स्वदेशी तथा विदेशी निकायको सहयोग गरिरहेका छन् । जीर्ण र पुरानो भवनमा लामो समय व्यतित गर्दै धेरै आरोहअवरोह र चुनौती पार गरी जुद्ध बारुणयन्त्र भक्तपुरले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो सेवालाई कुनै कमी हुन नदिएको उहाँ बताए ।

कार्यालय प्रमुख धौभडेल भने, मेरो जीवनको ३९ वर्ष यहीँ कार्यालयमा विभिन्न पदमा रहेर सेवा गरिरहँदा जीर्ण पानी चुहिने भवनमा थोत्रा दमकलले पनि सेवालाई कमी हुन दिएनौँ, नगरपालिकाले नयाँ दमकल दिएपछि धरै राम्रो भयो । भवन निर्माणको सबै विवादलाई विभिन्न चरणको छलफलबाट सहमति गर्दै नयाँ भवन बनाउन सफल भएका छौँ । जुद्ध बारुणयन्त्रको इतिहास अब यहाँ सधैँ जिवन्त र सेवा निरन्तरता रहन्छ ।

प्रतिक्रिया