सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन

नेपालखोज २०८१ फागुन ३० गते १९:५५

काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरे ।

समितिमा मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्यसचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्यसचिव रहनेगरी तोकिएको छ ।

इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला मन्त्री पौडेल र माल्दिभ्सका पूर्वस्वास्थ्यमन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो । सोहीअनुसार सम्झौताका लागि समिति गठन भएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्ने बताए ।

प्रतिक्रिया