गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज यहाँ आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
उनले नेपाल एकीकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन यस पदयात्राले महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गरे । ‘ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसाबले पनि अन्यन्तै सुन्दर क्षेत्र हो । देशका चर्चित साहित्यकारहरू सम्मिलित यस अभियानले तत्काल र पछि कलमको माध्यमद्वारा थप महत्व उजागर गर्न सघाउ पुग्नेछ’, नगरप्रमुख रानामगरले भने ।
पदयात्रा नेपाल काठमाडौंका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन् । पदयात्राका क्रममा उनीहरूले जिल्लाका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख, रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गरे । पदयात्रामा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शितल गिरीले बताए । उनले यहाँ जन्मिएका नेपालका प्रथम सहिद लखन थापाबारे थप जानकारी दिन आग्रह गुरे । स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने अध्यक्ष गिरीको भनाइ छ ।
पदयात्राले गोरखा भ्रमण वर्षलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने नगर उपप्रमुख मसली माया थोकरले बताए । नगरपालिकाले गोरखा भ्रमण वर्ष घोषणा गर्दै ‘गोरखाः जहाँ इतिहास जीवित छ’ भन्ने नाराका साथ यहाँको इतिहास प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ ।

प्रतिक्रिया