करिब ५ सय ४७ किलो गाँजा सहित एक जना पक्राउ

महोत्तरी । बर्दिबास नगरपालिका–३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा.३ ख ५८३२ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी मिनि ट्रक चालक सलिनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको ई–रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा ई–रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–१ कमलपोखरीस्थित सडकमा ना.४ ख ८८४३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजकुमार परियारकी छोरी ९ वर्षीया सन्जु परियारको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गोदावरी नगरपालिका–५ स्थित सडकमा सु.प.प्र.०१–००९ प १२५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक बर्दगोरीया गाउँपालिका–४ बस्ने ३२ वर्षीय राजेन्द्र सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
उदयपुरको कटारी नगरपालिका–१३ बिर्ता बस्ने तुलसी बुढाथोकीको खाली घरमा आइतबार दिउँसो आगलागी हुँदा घर र घरमा रहेका भाँडावर्तन र हाते ट्याक्टर पूर्णरूपमा जलेर करिब ७ लाख ८७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ मध्यपुर अस्पताल नजिकै काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–४ घर भएका २३ वर्षीय सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा फ्याक्ट्री, फ्याक्ट्री नजिकै रहेको खाजा होटल, मोटरसाइकल वर्कसप, मसला पसल र तोफु पसल समेत जलेर करिब ११ लाख ७२ हजार ७ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–११ सिमखोली बस्ने ६४ वर्षीय कर्ण बहादुर बुढामगरको घरमा आइतबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका सम्पुर्ण समान, अन्नपात पुर्णरूपमा जलेर नष्ट भएको छ । रोल्पाको रोल्पा नगरपालिका–१ टेडि खोला बस्ने भक्त बहादुर गिरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर र घर नजिकै रहेको गोठ समेत पुर्णरूपमा जलेर नष्ट भएको छ ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ रोकाजा बस्ने दल बहादुर बुढाको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पुर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पातलेपोखरा बस्ने ७६ वर्षीया रूपा भुषालको घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा घर र गोठ पुर्णरूपमा जलेर नष्ट भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–३ साउने पानी बस्ने प्रेम निरौलाको भान्सा घरमा आइतबार राति आगलागी हुँदा भान्सा घर, भान्सा घरभित्र रहेको भाँडावर्तन, अन्नपात, काठपात जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया