सोमबार, मंसिर २९, २०८२

ग्लोवल मनी वीकको अवसरमा प्रभातफेरी

नेपालखोज २०८१ चैत ३ गते १७:०१

काठमाडौं । ग्लोवल मनी वीक २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम भएको छ । थिङ बिफोर फलो, वाईज मनी टुमारो भन्ने नाराका साथ ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला सोमबारदेखि नेपालमा पनि शुरू भएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ अर्गनाईजेशन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसिडीं) को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ ।

ग्लोबल मनी विक, २०२५ को पहिलो दिन सोमबार नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँ गाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए

कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनी विक, २०२५ मनाउने क्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई शुरूदेखि नै जानकारी दिनुपर्ने बताए । समाजमा हरेकस्तरमा वित्तीय साक्षरता तथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायहरूबीच सहकार्यको आवश्यकता समेत उनीहरुले औल्याए ।

प्रतिक्रिया