डढेलो गाउँमा पस्दा एक विद्यालयसहित नौ घर जले

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा एक विद्यालय र नौवटा घरगोठ जलेर नष्ट भएको छ । डढेलो गाउँ पस्दा स्थानीय बालकन्या आधारभूत विद्यालयको दुईकोठे भवनका साथै छुम्पाङस्थित डाँडाबारीका अदम राई, पाँचभैयाटारका नगेन्द्र राई र सम्बरबहादुर राई, बाघखोरका रणबहादुर राई, सिद्धथानका पविन्द्रकुमार राई र हिराधन राई, लाङ्माका कृष्णबहादुर राई, चयनकुमार राई र टंकबहादुर राईको घर तथा गोठ जलेर नष्ट भएको हो ।
गत आइतबार रातीदेखि डिकुवाको नामेल्खा क्षेत्रको सामुदायिक वनमा डढेलो सुरु भएको थियो । गाउँ पसेको डढेलो अहिले निभाइएको छ । छुम्पाङ क्षेत्रमा लागेको आगो गएराति निभाउन सफल भयौँ, उनले भने, नेपाली सेना, सशस्त्र, जनपथ, नगरप्रहरी, स्थानीयलगायतले डढेलो निभाएका हुन् । भर्जेडाँडा क्षेत्रको सामुदायिक वनमा अहिले पनि डढेलो लागिरहेको छ । त्यसलाई निभाउने प्रयास गरिरहेका छौँ ।
डढेलो निभाइएपछि सदरमुकामबाट खटिएका नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरीको टोली फर्काइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन कोषबाट तत्काल प्रति घरपरिवार नगद १५ हजार, त्रिपाल र कम्बल एक-एक थान उपलब्ध गराएका छौँ । उनीहरुलाई थप राहत र पुनःस्थापनाका लागि पहल भइरहेको छ ।
आगलागी तथा डढेलोले कृष्णबहादुर राईको गाईको माउबाछा, सम्बरबहादुर राईको दुई माउ बाख्रा र च्यानटारका छोटे राईको दश माउ बाख्रा जलेर मरेको जनाइएको छ । स्थानीय लाङ्मा पाखामा चरनका लागि छाडिएका छोटे राईको दश माउमध्ये सातवटा जलेर मरेको अवस्थामा भेटिएको र तीनवटा नभेटिएको वडाध्यक्ष राईले जानकारी दिए ।
प्रतिक्रिया