गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भने, ‘हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्छ ।’
सांसद गङ्गाकुमारी बेल्वासेले सरकारले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्नुपर्ने माग गरे । उनले भने, ‘अहिले शिक्षक आन्दोलनमा छन, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई आफ्नो काममा फर्काउन अनुरोध गर्दछु ।’ शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद जगप्रसाद शर्माले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बेपत्ता हुनुभएकी दाङकी लिला श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे ।
सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया