नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का

नेपालखोज २०८१ चैत ६ गते १४:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताएका छन् ।

‘ग्रिन इनर्जी आन्टरप्रेनर नेपाल’ले आज यहाँ आयोजना गरेको ‘साना जलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनसम्बन्धी देखिएका चुनौती’ विषयक कार्यक्रममा मन्त्री खड्काले साना जलविद्युत् आयोजनाका समस्या समाधान गर्न नीतिगत सुधार गरिने बताए ।

ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने मन्त्री खड्काको भनाइ थियो । उनले साना जलविद्युत् आयोजना सँगसँगै मुलुकको समग्र ऊर्जा क्षेत्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरे । संस्थागत रुपमा रहेका तहगत बेतिथि पनि समाधान खोज्दै जानुपर्ने उनले बताए ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्रले निजी क्षेत्रका समस्या समाधान खोजेको मन्त्री खड्काले उल्लेख गरे । व्यवसायीलाई परेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । मन्त्री खड्काले विद्युत् प्राधिकरणले गरेको गल्तीका दोष निजी क्षेत्रमाथि थोपर्न नहुने बताए ।

ग्रिन इनर्जी आन्टरप्रेनर नेपालका अध्यक्ष इन्जिनियर सूर्यप्रसाद अधिकारीले साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर समायोजन गर्न माग गरे । उनले ‘टेक अर पे’ (लिउ वा तिर) प्रावधान कार्यान्वयन गर्नुपर्ने र विद्युत् उत्पादनको वैकल्पिक व्यवस्थालाई खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया