शनिबार, वैशाख १३, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

नेपालखोज २०८१ चैत ६ गते १७:४३

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-४ शेषमती सानोपुल एरियाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेटसहित सुनसरी धरान उपमहानगरपालिका-१७ घर भई काठमाडौं बानियाटार बस्ने २० वर्षीय सुरेन स्याङ्तानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध स्पास्मो १४४ ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम पुजन साह सुडीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बर्दिबासबाट डाबरीतर्फ जाँदै गरेको ज.१२ प ६१२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ११८ ट्याब्लेट र जुब्लिन १२३ ट्याब्लेट सहित बाग्लुङ वरेङ गाउँपालिका-१ बस्ने २२ वर्षीय प्रेम बहादुर थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.प्र.०१००१ ज ००९३ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १५ एम्पुलसहित सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २४ वर्षीय नेत्र बहादुर खनाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको बेलबारी नगरपालिका–४ काकुम झोडा डेरा गरी बस्ने रतुवामाई नगरपालिका-८ घर भएका ३० वर्षीय सुशिल मोतेलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम ८८० मिलिग्राम, डिजिटल तराजु १ थान, मोबाइल ३ थान र नगद ६१ हजार ६४० रूपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको को. २४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका-७ मालपुर बस्ने ३१ वर्षीय गणेश लामालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम र नगद १ लाख २० हजार रूपैयाँसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१७ वरकोबोटबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १४४ एम्पुल, फेनारगन १४२ एम्पुल र डाइजेपाम १४३ एम्पुल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–११ रानीपौवा बस्ने २६ वर्षीया एलिना पुन, माछापुच्छ्रे गाउँपालिका–३ घाचोक बस्ने ४१ वर्षीय सन्तोष गुरूङ र अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका-२ मिरूवा बस्ने ३१ वर्षीय सुजन गुरूङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी छोरेपाटनबाट खटिएको प्रहरीले बुटलवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ ज ८८०९ नम्बरको ईभी भ्यानमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–८ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–८ बस्ने २९ वर्षीय कृष्ण चौधरी र २८ वर्षीय डिमेन्स चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका–९ बिजुलीयाबाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ २५० ग्राम सहित सोही ठाउँ बस्ने बझाङ केदारस्यु गाउँपालिका घर भएकी ४५ वर्षीया गौरी गुरूधामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-७ देबरियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखिमपुर पलिया सुवास नगर बस्ने २६ वर्षीय जसप्रित सिंह र ४० वर्षीय अंगद सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–५ आकाशे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित कमल गाउँपालिका–५ मंगलबारे बस्ने २८ वर्षीय सुरज तुम्बाहाम्फेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरीको ईटहरी उपमहानगरपालिका–४ स्थित पूर्व बस स्टेण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८० ट्याब्लेट र स्पास्पेन १ सय ९० ट्याब्लेटसहित सोही उपमहानगरपालिका–१० शिव नारायण टोल बस्ने २५ वर्षीय सविन श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बिशालनगर सुकुमबासी बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने बादल लुहार र २६ वर्षीय साहिल धामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बादलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया