‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता

नेपालखोज २०८१ चैत ७ गते १८:३१

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् ।

आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदान-प्रदान गरे ।

स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको परियोजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताए ।

कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा बोर्ड र युएनडिपीले समान एक दशमलव पाँच मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप दुई मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ । परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) दुई हजार ५०० दिगो रोजगारी सिर्जना र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रमुख पर्यटकीयस्थलमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ ।

यसैगरी, युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडिपीले जोडिन पाउँदा गर्व महसुस गरेको भन्दै यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेका प्राथमिकताअनुसार सन् २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पुर्याउन र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउन बल पु¥याउने बोर्डले जनाएको छ ।

प्रतिक्रिया