उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जानकारी दिएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ट र समधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताए ।
‘हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ’, उनले भने, ‘दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।’
उपराष्ट्रपति यादवले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको विश्वास दिलाउँदै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताए । उनले जलविद्युत्, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताए ।
उपराष्ट्रपति यादवले धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै हाम्रा चासो बहुपक्षीय मञ्चमा मिल्दाजुल्दा रहेको बताए ।

प्रतिक्रिया