एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरिका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताएका छन् ।
काठमाडौँमा युएचएस होल्डिङ्सको सहभागितामा आज आयोजित आइओन एक्सचेन्ज जेरोबी–उत्पादन लन्च समारोहमा मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र आगामी एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइएको बताए ।
मन्त्री यादवले खानेपानी मन्त्रालय नेपालका प्रत्येक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउने आफ्नो सङ्कल्पप्रति प्रतिबद्ध रहेको बताउँदै नेपालका ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र सहरी क्षेत्रमा ९८ प्रतिशत जनसङ्ख्याले आधारभूत खानेपानी सेवाहरूको पहुँच पाएको बताए ।
सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको तथा जुन संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यको हिस्सा पनि भएको बताए । दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजाजस्ता रोग महामारीका रूपमा देखापर्ने गरेका, नेपालका धेरै भागमा जलस्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास र औद्योगिक फोहर स्वच्छ पानीको उपलब्धतामा बाधक बन्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया