सडक विस्तारको विरोधमा मुख्य व्यापारिक क्षेत्र बन्द

नेपालखोज २०८१ चैत १३ गते १२:१६

वीरगञ्ज । वीरगञ्ज बचाउ सङ्घर्ष समितिले वीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक विस्तारको विरोधमा मुख्य सडक (मेनरोड) खण्डका व्यापारिक पसल बन्द गराएका छन् ।

सर्वोच्च अदालतले सडक विस्तार विरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सीमाङ्कन गर्न यही चैत ८ गते पत्राचार गरेको थियो । सो पत्राचारसँगै यहाँका स्थानीयवासी आन्दोलित भएका हुन् । समितिका अनुसार वीरगञ्जका मुख्य व्यापारिक क्षेत्रका बजार दिउँसो १२ बजेसम्म बन्द गरिने जनाइएको छ ।

वीरगञ्ज बचाउ सङ्घर्ष समितिका संयोजक तथा वीरगञ्ज महानगर-९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले सर्वोच्च अदालतको पूर्णपाठ नआउँदै डिभिजन सडक हेटौँडाले सडकको सीमाङ्कनका लागि पत्राचार गरेकोले आन्दोलन अघि बढाएको जानकारी दिए ।

उनले सडक विस्तार गरिएमा गण्डक पुलदेखि मितेरीपुलसम्म करिव एक हजार एक सयभन्दा धेरै घरधनीको उठिबास हुने बताए ।

वीरगञ्ज महानगर–६ का महेशराम चौरसियाले सडक विस्तारले आफ्नो चार धुरको घरसहित जग्गा एक हात पनि नरहने गुनासो गरे ।

वीरगञ्जको महावीर मन्दिरसँगै घर रहेका सञ्जीव शर्मा सडक विस्तार भएमा आफ्नो पाँच जनाको परिवार बिचल्ली हुने बताउनुहुन्छ । वडाध्यक्ष गुप्ताले आजै आर्दशनगरबाट विरोध प्रर्दशनीसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको जानकारी दिए ।

सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सर्वोच्च अदालतको पूर्णपाठ आउनु अगावै त्रिभुवन राजपथ अन्र्तगत पर्ने गण्डकचोक–पावरहाउस–घण्टाघर–बिर्ता–रजतजयन्तीचोक–मितेरी पुलसम्मको सडक सीमा २५/२५ मिटरको क्षेत्र सीमाङ्कन गर्न पत्राचार गरेको बताए ।

गत फागुन २८ गते सर्वोच्च अदालतले वीरगञ्जको मुख्यसडक विस्तार विरुद्ध रिट खारेजी गरिदिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन २८ गते रिट निवेदकको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको उक्त सडकखण्डको सडक दायाँबायाँ २५-२५ मिटर चौडा गर्ने बाटो खुलेको हो ।

प्रतिक्रिया