एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

नेपालखोज २०८१ चैत १३ गते १२:५३

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।

अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनु पर्ने बताए । उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे ।

“गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन् । एनसीसीहरू स्वायत्त निकाय हुन् । यिनलाई चेपुवामा पार्नु ठिक होइन । आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,“ उनले भने । उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह पनि गरे ।

अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे । ‘संघको भवन र सचिवालय हामी सबैको साझा हो । कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,’ उनले भने ।

धम्पुसदेखि बुडापेष्टसम्म

गएको २० वर्षदेखि हंगेरीमा बसोबास गर्दै आएका भण्डारीका अनुसार हंगेरीमा झन्डै १२०० नेपालीहरू बसोबास गर्दछन् । ‘धेरै जसो नेपालीहरू ग्रामीण क्षेत्रमा खेतीपाती वा कारखानामा काम गरेर बसीरहेका छन् । उनीहरूलाई संस्थामा जोड्न पनि गाह्रो छ,’ भण्डारीले भने ।

हरेक वर्ष हंगेरीका नागरिकहरूलाई नेपालको पदयात्रामा लग्ने गरेका भण्डारीले हस्तकला लगायत नेपालका उत्पादन युरोपमा बिक्री गर्न पनि सघाउने गरेका छन् । कास्कीको रमणीय पर्यटकीय केन्द्र धम्पुसमा अन्नपूर्ण हिमाल हेर्दै हुर्किएका भण्डारीले धम्पुसमै अन्नपूर्णा किन्डरगार्डन पनि खोलेका छन् ।

प्रतिक्रिया