मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच बिहिबार शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे । मन्त्री यादवले नेपाल-जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए ।
मन्त्री यादवले जापान सरकारले विगतदेखि नै नेपालका खानेपानी परियोजनामा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए ।
त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालसालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको महत्वपूर्ण भूमिका रहेकोमा उनले जापान सरकारलाई विशेष धन्यवाद दिए ।
सोही अवसरमा राजदूत माएदा तोरूले जापान सरकार नेपालमा विगतदेखि नै विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको र आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया