शुक्रबार, वैशाख १२, २०८२

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य

नेपालखोज २०८१ चैत १४ गते ७:०४

काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहेकाे छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उनले गम्भीरतापूर्वक लिनुहुन्छ र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्छन् । हालै आयोजना गरिएको एक अन्तरक्रियामा अभिनेता आचार्यले अनुशासनले सफलतालाई दीर्घायु बनाउने बताए ।

स्वास्थ्य शरीर, शान्त मानसिक अवस्थासँगै आफ्नो सोच ३७ वर्षको युवाजस्तो भएका कारण काम गर्ने ऊर्जा उनलाई प्राप्त हुन्छ । नकारात्मकता आफूमा रहन नदिएकै कारण उनले गर्ने कर्मले कलाकारितासँगै समाजमा एउटा स्थान बनाएको छ । उनीसँगै मह जोडीका म अर्थात् मदनकृष्ण श्रेष्ठ कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउनुभएका कलाकार छन् ।

रङ्गमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गर्नुभएका अभिनेता आचार्यले नाटक नगर्नुभएको लामो समय भइसकेको छ । यद्यपि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्यले बताए ।

उनले कला क्षेत्रका लागि रङ्गमञ्च आमाको काखझैँ भएकाले यहाँ सिकिने कलाकारिता दिगो हुने अनुभव सुनाए । राष्ट्रिय नाचघरमा गुरु हरिप्रसाद रिमालसँग नाटक, कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै अभिनेता आचार्यले अभिनयमा रूचि राख्नेले आफूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले अभिनय गर्नुभएको पहिलो चलचित्र ‘कुमारी’ हो । उक्त चलचित्रमा कलाकार चाहिएको सूचना गोरखापत्र दैनिकमा देख्नुभएपछि अभिनेता आचार्यले आफू अभिनय गर्न इच्छुक रहेको निवेदन दिएकाे रहेछ । उक्त चलचित्रका निर्देशकको अगाडि एउटा चलचित्रको दृश्यलाई राम्रोसँग प्रस्तुत गरिएता पनि आफू उक्त भूमिकाका लागि छनोट नभएको अभिनेता आचार्यले बताए ।

स–साना भूमिकामा देखिए पनि उनले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने भूमिका प्राप्त गर्नुभयो । त्यसपछि अभिनयमा सक्रिय भएका अभिनेता आचार्यले अहिले पनि उस्तै रूपमा निरन्तर काम गरिरहेका छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरुका चलचित्रमा कलाकारका काम गर्न रुचाउछन् ।

प्रतिक्रिया