ईद उल फित्रको हार्दिक शुभकामना

सुनिल उलक २०८१ चैत १७ गते ६:५६

इश्वी सम्वतको पात्रो तथा विक्रम सम्वतको पात्रोमा झैँ मुस्लिमहरूको हिजरी सम्वतको पात्रोमा पनि १२ महिना नै हुने गर्दछ । चन्द्रकाल अनुसार मनाइने हुँदा करिब ३० दिनको महिना हुने गर्दछ । हिजरी सम्वतको सालमा केवल ३५४ वा ३५५ दिन मात्र हुने गर्दछ । चन्द्र उदयलाई नै नयाँ दिनको सुरुवात मान्ने हुँदा नयाँ साल पनि साँझ घाम डुबेपछि सुरु हुने गर्दछ । वर्षका बाह्र महिनाहरूको नाम यस प्रकारको रहेको छ । मुहर्रम, सफर, रबी अल-अव्वल, रबी अल-थानी, जमाद अल-अव्वल, जमाद अल-थानी, रजब, शआबान, रमजान, शव्वाल, जु अल-कादा तथा जु अल-हज्जा हुन । यसमा तेश्रो महिना रबीउल अव्वल पैगंवरको जन्म महिना हो भने रबीउल आखिर पैगंवरको मृत्युको महिना हो । साथै रजब देखि शव्वाल सम्मको चार महिनालाई पवित्र महिनाका रुपमा लिने गरिन्छ । यहि चार महिनाका बिचमा नै एक महिना लामो रोजा तथा प्रमुख चाड ईद उल फित्र पर्दछ ।

हिजरी सम्वतको आठौ महिनालाई रमजान भनिन्छ । रमजान महिना भर रोजा बस्ने गरिन्छ । यस महिनामा सूर्य आकाशमा रहुञ्जेल निराहार बस्ने गरिन्छ । बिहान घाम उडाउनु अगाडि सेहरी खाने गरिन्छ भने साँझ घाम डुबे पछि इफ्तार खाने गरिन्छ । मुस्लिम संस्थाहरुले सेहरी समाप्त हुने समय र इफ्तार शुरु गर्ने समय समेत दिने गर्दछन् ।

रमजानको अन्तिम दिन ईद उल फित्र मनाइन्छ । एक महिना लामो रोजा समाप्त भएको खुशियालीमा ईद उल फित्र मनाउने गरिन्छ । यस दिनको मिति तय नयाँ चन्द्रमाको उदय अर्थात देखिए पछि मनाउने गरिन्छ । जसले गर्दा पश्चिम तर्फ अर्थात अरब देशमा एक दिन अगाडि मनाइन्छ भने भारत नेपाल जस्तो पूर्वी देशमा एक दुइ दिन पछाडि मनाउने गरिन्छ ।

इश्वी सम्वत १६ जुलाई ६२२ शुक्रवारका दिन हजरत मुहम्मद मक्काबाट मदिना तर्फ लागेका थिए । मक्कामा उनको इस्लाम धर्मको अभियानको विरोध गरेपछि विवाद गरेर धनजनको क्षति गर्नु भन्दा मक्का नै छोडेर मदिना तर्फ लागेका थिए । र मदिनाबाट नै इस्लाम धर्मको शुरुवात गरेका थिए । पछि मक्काका जनताहरुले पनि इस्लाम कबुल गरे पछि सन ६२८ मा हजरत मुहम्मद आफ्ना १४०० अनुयायीहरुका साथ मक्कामा फर्किए । यहि यात्रालाई नै हज भन्ने गरियो । यसरी पछि बिभिन्न देशमा रहेका इस्लामहरु मक्कामा हजमा जान थाले । मक्काको मसजिद-अल-हरमको बिचमा एक घनाकार भवन रहेको छ । जसलाई काबा भनिन्छ । यहि काबालाई सात पटक घुम्ने तथा अन्य स्थलको भ्रमणलाई नै हजका रुपमा लिने गरिन्छ

आज चैत १८ गते सोमवार इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद उल फित्रको अवसरमा सम्पूर्ण इस्लाम मित्रहरूमा हार्दिक शुभकामना ।

प्रतिक्रिया