म्याट्रिकुलेशन, म्याट्रिक, प्रवेशिका, एसएलसी वा एसईई परिक्षाको इतिहास

नेपालखोज २०८१ चैत १७ गते ८:१८

एसईईको हाैवा यति बिघ्न बनाइएको छ कि एक परिक्षार्थीले विज्ञान विषयको परिाक्षा बिग्रेको निहुँमा आत्महत्या समेत गरेको समाचार सुनियो । एसईई पनि वार्षिक परिक्षा झै एक परिक्षाका रुपमा परिवर्तन गरिनु पर्दछ । बढीमा प्रदेश स्तरिय परिाक्षा बनाइनु पर्दछ । हिजो झै कलेज जानु अगाडिको परिक्षा रहेन अब । यसपछि पनि एघार र बाह्र कक्षा विद्यालयमा नै पठनपाठन हुनेगर्दछ ।

म्याट्रिकुलेशन, म्याट्रिक, प्रवेशिका, एसएलसी वा एसईई परिक्षाको इतिहास

बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले बि.सं. १९१० मा जनरल धीरशम्शेरको दरवार थापाथली दरवार भित्र राणाहरुका लागि पहिलो पटक अंग्रेजी समेतको शिक्षाको शुरुवात गरेका थिए । यस अगाडि संस्कृत शिक्षा दिने गरिन्थ्यो । दरवार भित्र यसरी शुरु भएको स्कुललाई दरवार स्कुल भन्न थालियो । यो स्कुल पछि हिटी दरवारमा सारियो । हिटी दरवारमा सञ्चालन हुँदा धीरशम्शेरका सत्र भाइका सन्तानले मात्र सो स्कुलमा पढ्न पाउँदथे । पछि बि.सं. १९३३ सालमा सेतो दरवारमा सारिए पछि भने अन्य राणाका सन्ततीहरुले पनि पढ्न पाए । १९४२ मा आइपुग्दा अन्य भारदारका छोरा नातिहरुलाई पनि पढ्न पाउने छुट दिइयो । १९५१ सालमा दरवार स्कुलको आफ्नै भवन भयो ।

रानीपोखरीको पश्चिममा भवन तैयार भए पछि सेतो दरवारबाट दरवार स्कुल अहिलेको दरवार स्कुल भएको ठाउँमा सारियो । यसरी नेपालको पहिलो अंग्रेजी भाषा पढाउने स्कुलको शुरुवात भएको थियो । शुरुमा केही राणाका छोरा नाति मात्रै भर्ना हुने यस स्कुलमा १९५८ सालसम्म केवल १७ जनाले मात्रै अंग्रेजी पढेका थिए । पछि सबैलाई पढ्न छुट भए पछि १९७५ सम्म पढ्नेको संख्या १७५ पुग्यो ।

अहिलेको एसईई सरहको म्याट्रिकुलेशनको परीक्षा भने कलकत्ता विश्व विद्यालयले लिने गर्दथ्यो । वि.सं. १९३६ देखि कलकत्ता विश्व विद्यालयले म्याट्रिक परीक्षा लिने गरेकोमा वि.सं. १९८० देखि पटना विश्व विद्यालयबाट संवर्द्धन प्राप्त गरेको थियो । वि.सं. १९३६ मा कलकत्तामा म्याट्रिक परीक्षा दिन जङ्गबहादुरका भतिजा खड्गशमशेर पहिलो पटक कलकत्ता पुगेका थिए । उनका साथ उनका बुबा जनरल धीरशम्शेर पनि कलकत्ता गएका थिए । त्यो समय धीरशमशेर पश्चिम कमान्डका सिनियर कमाण्डिङ जनरल थिए ।

कलकत्ता पुगेको अवसरमा उनले भाइसराय अर्ल अफ लिटन अर्थात रवर्ट बुलवर लिटन संग भेट गरेका थिए । यो भेटको चाँजोपाँजो भने कर्णेल इम्पेले मिलाइदिएका थिए । कर्णेल यूजीन क्लटरबक इम्पेलाई हामी फोटोग्राफीमा रुचि राख्नेहरुले प्रख्यात फोटोग्राफरका रुपमा चिन्दछौ । न कि राजनयिक वा सैनिक । उनले नेपालको खासै धेरै फोटो नखिचे पनि भारतका बिभिन्न स्थानका असंख्य फोटोहरु खिचेका छन् । उनले खिचेको मँगहिटीको पूर्वबाट मणिमण्डप, विश्वनाथ र कृष्ण मन्दिर देखिने गरि खिचेको फोटो निकै महत्वपूर्ण रहेको छ । सन १८६३ (बि.सं. १९२० तिर) खिचेको यो तस्विरमा मणिमण्डपको पुरानो स्वरुप देख्न पाउँछौ ।

यसरी पहिलो पटक नेपालबाट मेट्रिकुलेशन परिक्षामा सहभागी हुन आफ्नै छोराले अवसर पाएको हुँदा परिक्षाको समय धीरशम्शेर कलकत्तामा नै रहे । तर खड्गशम्शेर परीक्षा अगाडि लिइने इन्ट्रान्समा नै फेल भए । जसले गर्दा म्याट्रिकुलशन परीक्षा दिन नै पाएनन् । छोरालाई पहिलो पटक म्याट्रिकुलेशन परिक्षामा सहभागी गराएर उतिर्ण गराउने सपना पुरा नभए पनि अर्को वर्षमा अर्को छोरा चन्द्र शम्शेरालई पून म्याट्रिकुलेशन परिक्षामा सहभागी गराए र उनले उतिर्ण पनि गरे ।

छोरा खड्गलाई कलकत्ता लिएर गएर फर्किएका धीरशम्शेर भने केही महिनामा नै कमाण्डर इन चिफ बन्न पाए । दाजु जगत शम्शेरको अचानक देहावसान भए पछि उनले कमाण्डर इन चिफ बन्ने सौभाग्य पाएका थिए । बि.सं. १९३७ मा म्याट्रिकुलेशन परिक्षामा सहभागी भएका चन्द्रशमशेर राणा परिवार भित्रमा पहिलो म्याट्रिक उतिर्ण गर्ने राणा बन्न पाए । म्याट्रिक उतिर्ण गरेपछि चन्द्रशमशेरले कलकत्ता विश्व विद्यालयमा नै पढाइ सुचारु राखे । तर १९४० मा बाबु धीरशमशेरको निधनको समाचार सुनेपछि फर्केका चन्द्रशमशेर फेरी पढाइ पुरा गर्न कलकत्ता पुग्न नै पाएनन् ।

त्यो बेला म्याट्रिकुलशनको परीक्षा दिन कलकत्ता तथा पटना जाँदा बिद्यार्थीहरुका लागि सम्पूर्ण ब्यबस्था सरकारले नै गरिदिन्थ्यो । जाने आउने तथा बस्ने खाने ब्यबस्था सरकारबाट नै हुने गर्दथ्यो । बि.सं. १९८५ मा म्याट्रिकुलशन वोर्ड ‍(म्याट्रिकुलेशन परीक्षा केन्द्र) को गठन नेपालमा नै भयो । बि.सं. १९९० कार्तिक १६ गते जुद्धशमशेरले एसएलसी परीक्षा बोर्ड (प्रवेशिका परीक्षा) को गठन संगै परीक्षा दिन पटना जानुपर्ने बन्द भयो । परीक्षा नेपालमा नै दिन पाउने भयो । तर परीक्षाको तैयारी प्रश्नपत्र तथा परीक्षाफलको प्रकाशन भने सबै पटना विश्व विद्यालयले नै गर्दथ्यो । परीक्षाको केही दिन अगाडि पटना विश्व विद्यालयबाट सुपरिटेण्डेण्टहरु आउँथे परीक्षा लिन्थे र उत्तरपुस्तिकाको पोको लिएर पटना फर्कन्थे । नतिजा पटना विश्व विद्यालयले नै प्रकाशित गर्दथ्यो । २००३ सालबाट भने नेपालमा नै परीक्षाको सम्पूर्ण तैयारी तथा नतिजा निकाल्ने काम भयो । यसपछि भने म्याट्रिकुलेशन परीक्षाको नाम पनि प्रवेशिका परीक्षा तथा एसएलसी भन्न थालियो ।

१९९० सालमा परीक्षा वोर्डको गठन पछि नेपालमा नै परीक्षा लिने तैयारी भयो । पुसको अन्तिम साता परीक्षाको तालिका प्रकाशित भयो । परीक्षाका लागि ३४ विद्यार्थीले फारम भरे । जसमा एक मात्रै छात्रा सुवर्ण कुमारी देवी थिइन् । तर परीक्षाको दिन भने उनि सम्मिलित भइनन् । यसरी नेपालमा पहिलो पटक एसएलसीको परीक्षा शुरु त भयो । तर परीक्षा समाप्त नहुँदै अचानक माघ २ गते महाभूकम्प आयो । दरवार हाइस्कुलमा पनि क्षति पुग्यो । दरवार हाइस्कुलको दक्षिण भागका कोठाहरुमा एसएलसी परीक्षा सञ्चालन गरिएका थिए, त्यहाँ क्षति हुन पुग्यो । यसरी रोकिएको एसएलसी पाँच महिना पछि १९९१ को जेठमा मात्रै सञ्चालन हुन सक्यो । दरवार हाइस्कुलमा क्षति पुगेका कारण बाकी परिक्षा भने टुँडिखेलको खुला मैदानमा नै गराइयो । दरवार हाइस्कुलको आफ्नो भवन पूननिर्माण नहुँदा सम्म सम्पूर्ण पढाइ त्रीचन्द्र कलेजमा गराइएको थियो । यसको नतिजा पनि ढिलो गरि प्राप्त भयो । जसमा प्रथम श्रेणीमा कोही पनि उतिर्ण हुन सकेनन् । दोश्रो श्रेणीमा १० जना उतिर्ण भए भने तेश्रो श्रेणीमा ९ जना उतिर्ण भए । यसरी पहिलो एसएलसी परीक्षामा १ अनुपस्थित, १४ अनुतिर्ण र १९ बिद्यार्थी उतिर्ण भएका थिए । यस पहिलो एसएलसीमा भक्तपुरका पुष्पभक्त मल्लले जम्मा ५७.५८ प्रतिशत अंक प्राप्त गरेर नेपालकै इतिहासमा पहिलो बोर्ड फस्ट हुने सौभाग्य पाएका थिए ।

१९९० सालमा एक छात्राले प्रवेशिका परीक्षाका लागि फारम भरे पनि अनुपस्थित रहेकोमा त्यसपछि १४ वर्षसम्म कुनै पनि छात्रा परीक्षामा सम्मिलित भएनन् । २००४ सालमा बल्ल एकैपटक चार छात्रा साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए ।

एसएलसीको परिक्षाको नतिजा २००७ सालदेखिको नतिजा नेपाल राजपत्रमा पनि छापिन थालेको थियो । केही वर्ष राजपत्रमा नतिजा प्रकाशित भए पनि पछि बिद्यार्थीहरुको संख्या अत्यधिक हुन थाले पछि नतिजा गोरखापत्रमा छापिन थाल्यो । यसरी गोरखापत्रमा बोर्डमा आउनेहरुको नामावली आउँदा बिद्यार्थीहरु मात्र होइन अविभावकहरु पनि गर्व गर्न पाउँथे । तर दोश्रो जनआन्दोलनको सफलता पछि देशले आबश्यक भन्दा अनावश्यक कुराहरुको पनि परिवर्तन ल्यायो । परिक्षाको नतिजाको साथ बोर्डमा आउनेहरुको नामावली नराखिने निर्णष भयो । जसअनुसार बि.सं. २०६२ सालको नतिजा २०६३ सालमा प्रकाशित गरिँदा बोर्डको नामावली हटाइयो । यसको दश वर्ष पछि फेरी अर्को परिवर्तन भयो । नतिजा अंकमा र प्रतिशतमा राखिने गरिएकोमा बि.सं. २०७२ सालमा परीक्षा दिएकाहरुको २०७३ सालमा नतिजा प्रकाशित हुँदा प्रतिशतबाट मुल्यांकन हुने पद्दती हटाएर ग्रेड राख्न थालियो । साथै २०७३ सालमा आइपुग्दा एसएलसीको नाम नै परिवर्तन गरेर एसईई राखियो ।

यसरी ८४ वर्षको एसएलसीको इतिहास रह्यो । यस बिच २००७ सालमा प्रजातन्त्रको आगमनका कारण दुइपटक परिक्षा लिइयो । दुइ बिद्यार्थीलाई बोर्ड फस्ट घोषणा गरियो । २०३२ साल देखि ३४ सम्म भने नयाँ शिक्षा प्रणालीबाट र पुरानो शिक्षा प्रणालीबाट छुट्टाछुट्टै परिक्षा भएको थियो ।

एसएलसीलाई एसईई गरिँदा र माध्यामिक बिद्यालको अन्तिम परीक्षाका रुपमा कक्षा १२ लाई स्विकार गरिसक्दा पनि एसईई परिक्षा लिने प्रणाली भने उहिलेको एसएलसी जस्तै नै छ । वास्तविकतामा भन्ने हो भने यो केवल सामान्य ८, ९ को परिक्षा झै १० कक्षाको परिक्षा मात्रै हुनुपर्ने हो । साथै बिद्यार्थीहरुमा बिशेष परिक्षाको रुपमा लिइँदा र महत्व भने ८, ९ को सामान्य परिक्षा जस्तै हुँदा मानसिक रुपले भने बिद्यार्थीहरु भने फलामे ढोका नै सम्झन तथा मान्न बाध्य छन् ।

हुन त नेपाल मात्रै होइन दक्षिण एशियाकै शिक्षा प्रणाली पुरातन शैलीको छ । घोकन्ते हुनु पर्ने बाध्यता छ । प्रश्नपत्र बनाउने र जाँचकीहरु उहि ढाँचाको उत्तरलाई मात्रै बढि नम्बर दिने र भिन्न किसिमले उत्तर लेखेमा नम्वर नदिने गर्दछन् । जसले गर्दा अल्प ज्ञान भएका तर घोकन्तेहरुले बढि ग्रेड पाइरहेका हुन्छन् भने राम्रो ज्ञान भएका तर हुबहु उत्तर नलेख्नेहरुले ग्रेड कम पाएका हुन्छन् । जसले गर्दा नतिजामा बढी ग्रेड पाउने भन्दा कम ग्रेड पाउनेहरुले जीवनमा सफलता पाएका हुन्छन् । घोकन्ते पढाइ भनेको कम्प्यूटरको भाषामा कपी पेष्ट हो । शिक्षकले कक्षामा नोटमा जे लेखायो त्यही लेख्नुपर्ने ।

यस वर्षको एसईई परिक्षामा ५ लाख १४ हजार ७१ बिद्यार्थी सहभागि भएका थिए । यसपटक पनि गत वर्ष झै जापानमा पनि परिक्षा लिइएको थियो । कुनै बेला हङकङमा रहेको गोर्खा हाइस्कुलले एसएलसी परिक्षामा सहभागी मात्रै होइन बोर्ड फस्ट पनि दुइ पटक भएका थिए । यसपटक भने जापानमा रहेका नेपालीहरुका २९ जना सन्तानले जापानमा नै बसेर एसईई दिने सौभाग्य पाए । २०७७ सालबाट जापानमा एसईई परिक्षा लिन थालिएको हो । त्यहाँबाट अघिल्सलो वर्षसम्म एसईई परिक्षा दिएका ८५ जना सबै उतिर्ण भएका थिए ।

तस्विरमा पहिलो पटक म्याट्रिकुलेशन परिक्षा दिन कलकत्ता पुगेका खड्गशमशेर र उतिर्ण भएका चन्द्रशमशेर ।

प्रतिक्रिया