प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ईदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् । आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ, सन्देशमा भनिएको छ, रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।
इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी छिन् । रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया