एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

नेपालखोज २०८१ चैत १७ गते १२:१५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको अवसरमा बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति पौडलले आज जारी गरेको शुभकामना ईद पर्वमा अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन् ।

सन्देशमा भनिएको छ, ‘यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

राष्ट्रपति पौडलले यसपर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनको सन्देशमा भनिएको छ, ‘सामाजिक एव सांस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ ।’

ईदमा मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूला बडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । याे अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया