अनुमति बिनानै सञ्चालनमा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र

नेपालखोज २०८१ चैत १८ गते २०:१९

चितवन । जिल्लामा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र सङ्घीय शिक्षा मन्त्रालय तथा प्रादेशिक सामाजिक विकास मन्त्रालयमा अनुमति नभइ सञ्चालन भइरहेको पाइएको छ । स्थानीय प्रशासनले एक साता लगाएर २८ वटा यस्ता केन्द्रमा गरेको अनुगमनका क्रममा १८ वटामा यस्तो समस्या देखिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास खनालका अनुसार प्रारम्भिक रूपमा गरिएको अनुगमनका क्रममा १० वटा केन्द्रले शिक्षा मन्त्रालय एवं प्रदेशको सामाजिक विकास मन्त्रालयसँग अनुमति लिएर चलाएको भएपनि अनुमति अनुसारको संरचना अपुग देखिएको छ । यस्ता केन्द्रलाई अपुग भएका वस्तु पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।

कम्पनी राजिष्टार कार्यालयमा दर्ता भई व्यवसाय दर्ता गरेर मन्त्रालयसँग अनुमति नलिएकालाई अनुमति लिनका लागि समय दिइएको उनले जानकारी दिए । जिल्लामा शाखा कार्यालयका रूपमा र मुख्य कार्यालयका रूपमा तीन सयभन्दा बढी यस्ता केन्द्र सञ्चालनमा रहेको अनुमान गरिएको बताउँदै उहाँले सबै केन्द्रमा अनुगमन गरिने बताउनुभयो ।

कार्यालयले गरेको अनुगमनका क्रममा मन्त्रालयसँग अनुमति नलिइ सञ्चालन गरेका पाँचवटा अनुमतिको प्रक्रियामा आएको बताए । दिइएको निर्देशन नमान्ने र अनुमति लिन नजानेलाई मन्त्रालयमा नियमनका लागि पत्र पठाउने तयारी गरिएको खनालले जानकारी दिए ।

आकस्मिक रूपमा अनुगमन गरिएको हो । पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका एवं भरतपुर महानगरपालिकाको मूख्य सहरी क्षेत्रमा यस्ता केन्द्र रहेका छन् ।

प्रतिक्रिया