बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताइन् ।
बैङ्ककमा आयोजित छैठौँ बिमस्टेक समिटअन्तर्गत आज २०औँ मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकले बङ्गालको खाडी क्षेत्रका नागरिकको साझा आकांङ्क्षाको प्रतिनिधित्व गर्ने भएकाले एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन् ।
अन्तरराष्ट्रिय समुदायको एक जिम्मेवार सदस्यका हैसियतले नेपालले संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्तिपूर्ण, समतामूलक र समावेशी रुपमा क्षेत्रीयता र बहुपक्षीयतालाई महत्व दिँदै आएको पनि उनले स्पष्ट गरिन् ।
उहाँले सन् २००४ मा सदस्य भएदेखि नै नेपाल बिमस्टेकको बडापत्र, सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको र क्षेत्रीय समृद्धि, शान्ति र एकताको भूमिकालाई नेपालले आत्मसात गरेको बताइन् । मन्त्री डा राणाले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, वातावरणीय विनाश र प्रदूषणको विनाशकारी प्रभावजस्ता कारणले बङ्गालको खाडी क्षेत्र जोखिममा रहेको सन्दर्भमा पूर्वाधार निर्माण, पूर्व चेतावनी प्रणालीमार्फत विपद् रोकथाम तथा स्थानीय समुदायलाई वातावरण संरक्षणमा संलग्न गराउनु अहिलेको आवश्यकता हो भने ।
उनले प्राकृतिक प्रकोप नियन्त्रण तथा प्रतिरोधमा क्षेत्रीय प्रयासहरूलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनसम्बन्धी बिमस्टेक केन्द्र स्थापना गर्ने भारतको प्रस्तावको स्वागत गर्दै केन्द्रले यी सबै चुनौतीको सामना गर्न ‘एआई’को प्रयोगलाई प्राथमिकता दिने विश्वास व्यक्त गरिन् ।
मन्त्री डा राणाले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपनको प्रवद्र्धनमा बिमस्टेकको भूमिका सदैव अग्रणी रहने विश्वास पनि व्यक्त गरिन् । उनले बिमस्टेकलाई बलियो साझेदारी मञ्चका रुपमा रूपान्तरण गरी समयानुकूल सशक्त क्षेत्रीय सङ्गठन बनाउन विभिन्न सुझावहरु प्रस्तुत गरिन् । यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकतासहितको सहकार्यको भावना र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया