सामाजिक परिचालिकाको समस्या नीति बनाएर समाधान गर्नुपर्नेमा जोड

नेपालखोज २०८१ चैत २० गते १५:५५

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले ‘सामाजिक परिचालिका’ हरूको समस्या यथाशीघ्र नीति बनाएर समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसदले आफ्नो जीवनको ऊर्जाशील समय र शक्ति व्यतित गरी विगत २३ वर्षदेखि सरकारको जिम्मेवार निकायमा सेवा गरेका २१० जना सामाजिक परिचालिकाको समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद रोशन कार्कीले सरकारले सामाजिक परिचालिकाको श्रम शोषण गर्न नहुने उल्लेख गर्दै पीडित परिचालिकाहरूसँग आवश्यक छलफलपछि सरकारले श्रमको सम्मान हुनेगरी नीति बनाएर व्यवस्थापन गर्नुपर्ने बताए । सामाजिक परिचालिकाको समस्या समाधान स्थानीय र प्रदेश सरकारलेभन्दा पनि सङ्घीय सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

सांसद सुशीला श्रीमाइली ठकुरीले परिचालिकाबारे प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर समस्या समाधानको पहल गर्नुपर्ने धारणा राखे । सांसद लक्ष्मी तिवारीले परिचालिकाको समस्यालाई लिएर एक मन्त्रालयले अर्कोलाई देखाउँदै पन्छाउनेभन्दा सरोकार भएका निकायबीच छलफल गरी समाधान खोज्नुपर्ने बताए । सांसद सरस्वती बजिमयले सामाजिक पहिचालिकालाई सरकारले अन्याय गरेको भन्दै सहज समाधानको उपाय अपनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा महिला सामाजिक परिचालिका राष्ट्रिय अभियानका संयोजक कविता सोडारीले उमेर पुगेर सेवामा फर्किन नचाहनेका लागि हालसम्मको योगदानबापतको रकम दिनुपर्ने माग गरे । महिला विकास कर्मचारीलाई जस्तै सामाजिक परिचालिकाबीच पनि आन्तरिक प्रतिस्पर्धा गराई समेटिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया