आइतबार, वैशाख १४, २०८२

शिक्षकले पाएनन् छ महिनादेखि तलब

नेपालखोज २०८१ चैत २० गते १६:१३

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए ।

तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ, उनले भने, असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ । तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिए । संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्, उनले भने, हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।

शिक्षकहरूको हकमा भने पहिला–पहिला चार-चार महिनामा र अचेल तीन-तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरुको भनाइ छ । नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए ।

उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए । शिक्षकहरुको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए ।

प्रतिक्रिया