वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

नेपालखोज २०८१ चैत २१ गते ११:१२

बनियानी । कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले उक्त सङ्ख्या १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ ।

कनकाई नगरपालिकाको वडामा मेलमिलाप समिति सक्रिय भएसँगै नगरको न्यायिक समितिमा मुद्दा चाप घटेको हो भने न्याय सम्पादन सहज बनेको हो । वडाका मेलमिलापकर्तालाई तालिम दिएर अब्बल बनाएका छौँ, नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक आशा शर्मा शिवाकोटीले भने, यसले वडामै विवाद मिल्न थालेको छ, नगरसम्म आउनुपर्ने बाध्यता हटेको छ ।

न्याय माग्न आउने नगरवासीलाई आर्थिक बोझ घटेको उनले सुनाए । ९ नम्बर वडाबाट टेम्पोमा आउँदा रु दुई सय जाँदा दुई सय लाग्छ, उनले भने, वडामै विवाद मिल्दा आर्थिक अवस्था कमजोर भएका वडावासीलाई सहज भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १२ नयाँ मुद्दा नगरको न्यायिक समितिमा दर्ता भएका छन् भने आव २०८०/८१ को पाँच वटा मुद्दा सरी आएको थियो । नयाँ पुराना गरी १४ मुद्दा फछ्र्योट भएको गरिएको छ ।

नगरमा दर्ता हुने मुद्दा अधिकांश मुद्दा लेनदेन र जग्गा विवादका रहेका छन् । न्यायिक समितिमा दर्ता भएका सात लेनदेनका मुद्दामध्ये पाँच वटा फछ्र्योट भएका छन् भने दुई वटा फछ्र्योट हुन सकेको छैन । आफन्तभित्रै लेनदेनको मुद्दा धेरै छ, उनले भने, नगरमा ऐलानी जग्गा धेरै भएकाले पनि सीमा विवाद धेरै आउने गरेको छ ।

हरेक साताको बिहीबार र शुक्रबार न्यायिक समितिले इजलासमा मुद्दा हेर्ने गरिएको छ । गत दुई सातादेखि न्यायिक समितिमा नयाँ मुद्दा दर्ता भएका छैनन् । मुद्दा नभएको समयमा वडामा गएर मेलमिलाप समितिको अनुगमन गर्ने गरिएको उपप्रमुख शिवाकोटीले बताए ।

न्यायिक समितिले मुद्दा हेर्दा राजनीतिक दबाब, नातावाद, कृपावाद नहेरी स्वतन्त्र रुपमा न्याय सम्पादन गर्ने गरेको उनले सुनाए । अप्ठ्यारा खाल र न्यायिक समितिबाट नसक्ने खालका मुद्दा आए अदालतमा पठाउने गरेका छौँ, उनले भने ।

मेलमिलाप समितिलाई वर्ष दुई पटक तालिम दिनुका साथै मेलमिलाप समितिलाई चुस्त दुरुस्त बनाउन अन्य पालिकाले गरेका राम्रा कामको अनुगमन गराएर अभ्यास गराउने गरिएको न्यायिक समितिका कानुन अधिकृत भूपेन्द्र बस्नेलले बताए । गत आव २०८०/८१ मा न्यायिक समितिमा २४ मुद्दा दर्ता भएकामा १९ वटा फस्र्यौट भएका उनले बताए । कनकाई नगरपालिका–३, ५ र ८ वडाबाट मुद्दा धेरै आउने गरेका उनले बताए ।

नगरमा उपप्रमुख शिवाकोटी, वडाध्यक्ष बलराम राई र कार्यपालिका सदस्य नवलकिशोर दत्तसहित तीन सदस्यीय न्यायिक समितिले न्याय सम्पादन गर्दै आएको छ भने प्रत्येक वडामा वडा सदस्यको संयोजकत्वमा मेलमिलाप केन्द्र गठन गरेर ‘वीन–वीन’ माध्यमबाट विवाद समाधान गरिँदै आएको छ ।

प्रतिक्रिया