वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ ।
जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो । यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ । यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अङ्क भन्न कठिन रहेको बोर्डको भनाइ छ ।
यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो । केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार गर्यो ।
‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोडको हाराहारीमा व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए ।
यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताए । उनले भन, यो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्याङ्क हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन ।

प्रतिक्रिया