कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु…

वीरगञ्ज (पर्सा) । वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् ।
सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आएका छन् ।
कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्यै गरेका हुन्छौँ, घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भने, हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन् । ४७ वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाए । चौहान आफू राजमिस्त्री भएको बताए । आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपथ्र्याे र ? उनले भने, छ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डोर्याएको हो ।
दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएको छु । चौहानले काम पाउँदा आफूले दैनिक रु ९०० कमाई गर्ने बताए । जग्गाको नाउँमा पाँच धुर जग्गामा एउटा घर मात्रै छ, उनले भने, दैनिक ९०० को ज्याला मजदुरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ । चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गरे । वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला हुन् । उनीजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ जना मजदुर आउने गर्छन् । यहाँ दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका–२२ का ४५ वर्षे राज करिम पनि हुन् ।
वीरगञ्ज महानगर–२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने दाबी गर्नुहुन्छ । दिनदिनै कामको खोजीमा आउने गर्छाैं । तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ, उनले भने, काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि । साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जाे टार्दै आइरहेको बताए । म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ, उनले भने, जे काम पाइन्छ त्यही गर्ने हो । हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि ।
साह मजदुरहरु बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा पर्खिने बताए । दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छाैं, उनले भने, दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो । घण्टाघरमा भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रालि वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुरको खोजीमा आएको बताए । प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ । त्यसका लागि मजदुर चाहिएर यहाँ लिन आएको हुँ, उनले भने, आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं । सञ्चालक शेखले औसतमा मजदुरहरुको दररेट ६०० देखि ७०० रुपैयाँ रहेको बताए ।
रौतहटको गौर नगरपालिका–६ सबगाडा स्थायी घर भएका मोहमद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा परे । लेबर मजदुरको काम दिनदिनै भने पाइँदैन । तीन दिन काम गर्यो । फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ, उनले भने,पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ । मियाँले मुस्किलले दैनिक साढे ३०० बचत गर्ने बताए । गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ, उनले भने, काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ ।
वीरगञ्ज महानगरपालिका–२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदुर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदुरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे । यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ, उनले भने, गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैङ्क’ जस्तै गरेर चल्दै आइरहेको बताए । घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गरे । उनीहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक छन् उनले भने, कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ ।
अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताए । उद्योगधन्दामा नयाँ खालका मजदुरलाई बिस्तारै काम सिकाएर काममा पोख्त बनाएर काम गराउने गर्छाैं, उनले भने, मौसमी काम गर्ने मजदुरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ । उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदुर व्यवस्थापन गर्न समस्या हुने गर्छ । बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदुर कार्यरत छन् । करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ ।
पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्याङ्क छैन, तर ८०० देखि एक हजार २०० को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार ६४६ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या १२६ रहेको छ । बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार २२५ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने १५२ रहेको छ ।

प्रतिक्रिया