शनिबार, वैशाख २९, २०८१

हत्यारा !

प्रेम पुन मगर २०७९ असार २५ गते ८:१०

केहीदिन पहिला मात्रै उनी कम्पनीमा सहायकको रुपमा आएकी थिइन् । काम गर्दैगर्दा उनले भनिन् । ‘मेरो सात महिना चल्दै छ । भारी-भारी तिमी उठाऊ । म हलुका-हलुका उठाउँछु ल ।’ उसले भन्यो- ‘भइहाल्छ नि । श्रीमान् कता छन् ? यो पहिलो बच्चा हो कि अरु पनि छन् ?’

प्रश्नको जवाफमा उनले भनिन्, ‘श्रीमान अर्कै जिल्लामा छन् । बच्चा त अरू पनि छन् चारवटा यो त पाँचौं हो ।’ उसले अर्को जिज्ञासा राख्यो, ‘हे भगवान् ! यो जमाना पनि यतिका धेरै बालबच्चा किन ? उनले पनि जवाफ दिँदै गइन्, ‘पहिलाका सबै छोरी हुन् नि त । अहिले छोरो छ ।’

त्यतिकैमा कम्पनी बोस्, हेड मेनेजर, मार्केटिङ मेनेजर प्रोडक्सन् मेनेजर, क्युसीसहितका एक हूल आएर चिच्याए । ‘पख, तिमीहरूको खैरियत छैन । तिमीहरुले बनाएको फाइभ जिरो सेभन मोडेलको कन्टेनर पूरा रिटर्न आउँदै छ । त्यसको घाटा तिमीहरूको सेलेरीबाट पूरा गरिनेछ ।’

यति सुन्दै उनी यसरी तर्सिइन्, मानौं उनको संसार लुटियो । थरथर काम्दै उनी घर हिँडिन् । घर नपुग्दै पेटको बच्चा खेर गएछ । उनले हस्पिटलबाट फोन गरेर बताइन् । उसलाई मनमा लागिरह्यो । यदि तिनीहरूले हिजो त्यो डर नदेखाएको भए, यो घटना हुने थिएन ।

केहीबेरपछि हिजोको ग्रुप मध्य एकजना आएर भन्यो । ‘सरी हिजो रिटर्न भनेको कन्टेनर त फाइभ जिरो सेभन नभएर फाइभ सेभन जिरो पो रहेछ । इमेल पठाउनेले गलत लेखिदिएछ ।’

प्रतिक्रिया