जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

नेपालखोज २०८१ चैत २१ गते १३:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन् । थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे ।

यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभई तराई र तटीय क्षेत्रहरूमा पनि परेको बताए ।

हिमालहरूको पीडा र हिमाल तथा समुद्रबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्दैछ र म यहाँहरू धेरैलाई त्यहाँ देख्न उत्सुक छु, उनले भने । जलवायुको प्रभावका कारण तटीय क्षेत्रहरूमा पनि समुद्री सतह बढिरहेको र आँधीका घटना तीव्र हुँदै गइरहेको उल्लेख गर्दै उनले बिम्स्टेक क्षेत्रले हिमपहिरो, चक्रवात, मेघगर्जनसहितको वर्षा, तातो हावा र खडेरीजस्ता चरम मौसमी घटनाहरूको सामना गरिरहेको बताए ।

हाम्रा जनता र हाम्रो भविष्यको रक्षा गर्न हामीले निर्णायक रूपमा कार्य गर्नु अनिवार्य छ, जलवायु परिवर्तनसम्बन्धी मुद्दामा सामुहिक रुपमा काम गर्न जरुरी छ, प्रधानमन्त्री ओलीले भने । उनले जलविद्युत् क्षेत्रमा लगानी गरेर सीमापार ऊर्जा ग्रीड र नवीकरणीय ऊर्जा परियोजनामार्फत क्षेत्रीय ऊर्जा व्यापार बढाउनपर्ने आवश्यकता औँल्याए ।

साथै उनले बढ्दो व्यापार तनाव र आपूर्ति शृङ्खला अवरोध हटाउँदै द्रुत प्राविधिक परिवर्तनलाई आत्मसाथ गरी सहकार्य गर्नुपर्नेमा जोड दिए । विपद् पूर्वतयारी, सार्वजनिक स्वास्थ्य सेवा र समावेशी आर्थिक नीतिहरू हाम्रो क्षेत्रीय मुद्दाको केन्द्रमा रहनुपर्छ, सामाजिक र सांस्कृतिक सद्भावलाई प्रवद्र्धन गरिनुपर्छ, र समुदायको बलियो भावनालाई बढावा दिनुपर्छ, प्रधानमन्त्री ओलीले भने, दिगो विकास लक्ष्यहरूलाई राष्ट्रिय र क्षेत्रीय नीतिगत ढाँचाहरूसँग एकीकृत गरी न्यायपूर्ण, समावेशी ढङ्गबाट सम्बोधन गर्नुपर्छ ।

सम्मेलनको सफलता र बिम्स्टेक सदस्य राष्ट्रका जनताको चिरस्थायी शान्ति, कल्याण र समृद्धिका लागि आफू तीन करोड नेपाली जनताको सन्देश लिएर यहाँ आएको उल्लेख गर्दै उनले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र सरकारलाई न्यानो आतिथ्यता र शिखर सम्मेलन आयोजनाका लागि प्रशंसा र आभार व्यक्त गरे । साथै उनले विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट म्यानमार तथा थाइल्याण्डका सरकार एवम् जनताप्रति समवेदना र सहानुभूति व्यक्त गरे ।

प्रतिक्रिया