ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

नेपालखोज २०८१ चैत २१ गते १४:३४

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन् । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन् ।

बिहीबार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्नेछ । इशिबाले संसदमा भने, यो कदमले जापानलाई आर्थिक रूपमा ‘राष्ट्रिय सङ्कट’ निम्त्याउनसक्ने हुँदा सरकारले सबै पक्षसँग मिलेर यसको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेको छ । उहाँले ट्रम्प प्रशासनसँग वार्ताका लागि ‘शान्त–नेतृत्वदायी’ दृष्टिकोणको लागि आह्वान गरे ।

अमेरिकाले यसै हप्ता लागू भएको जापानी कार आयातमा २५ प्रतिशत कर पनि लगाएको छ। बैङ्क अफ जापानका गभर्नर काजुओ उएदाले भने, करले विश्व र राष्ट्रिय अर्थतन्त्रमा गिरावटको दबाब निम्त्याउन सक्छ। सरकारका प्रवक्ता योशिमासा हयाशीले बिहीबार आफ्ना मन्त्रीहरूलाई करको ‘नजिकबाट अध्ययन गर्न’ र घरेलु उद्योगका लागि वित्तीय सहयोग र रोजगारीको सुरक्षासहित आवश्यक सबै कदम चाल्न निर्देशन दिएको बताए ।

असाही शिम्बुन दैनिकका अनुसार इशिबाले शुक्रबार पार्टी नेताहरूसँग गरेको भेटको उद्देश्य पूरक बजेट विधेयकको आधार तयार पार्नु थियो । उनको अल्पमतको सरकारलाई संसद्मा कुनै पनि विधेयक पारित गर्न विपक्षीहरूको समर्थन आवश्यक छ । शुक्रबार हयाशीले ट्रम्पको नयाँ कर ‘अत्यन्त खेदजनक’ भएको र विश्व व्यापार सङ्गठनको नियम र अमेरिका–जापान व्यापार सम्झौताको पालना गर्ने वा नगर्नेबारे जापानको ’गम्भीर चिन्ता’ रहेको बताएका थिए।

जापान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (जेसीसीआई) ले ट्रम्पको करवृद्धिले जापानी अर्थतन्त्रमा गम्भीर असर पार्ने बताएको छ । जेसीसीआईले एक विज्ञप्ति जारी गरी भनेको छ, हामी सरकारलाई कर छुटका लागि निरन्तर वार्ता जारी राख्न र एक विस्तृत परामर्श प्रणाली विकास गरेर र नगद व्यवस्थापन समर्थनलाई सुदृढ गरेर साना तथा मझौला उद्यम र साना व्यवसायमा पर्ने असरलाई कम गर्न सबै सम्भावित उपायहरू अवलम्बन गर्न जोडदार आग्रह गर्दछौँ ।

प्रतिक्रिया