भारतीय प्रधानमन्त्री र बङ्गलादेशी समकक्षीबीच भेटवार्ता

बैङ्कक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र छिमेकी मुलुक बङ्गलादेशका नेताबीच शुक्रबार भेटवार्ता भएको छ । ढाकामा भएको विद्यार्थी आन्दोलनले लामो समयदेखि बङ्गलादेशको प्रधानमन्त्री रहेकी नेतृ शेख वाजेद हसिनालाई अपदस्थ गरेपछि उनीहरूबीच पहिलो पटक भेटवार्ता भएको हो ।
सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्रीबाट अपदस्थ गरेपछि नोबेल पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको बागडोर सम्हालेका थिए । अपदस्त भएपछि पूर्वप्रधानमन्त्री हसिना आफ्ना केही सहयोगीसहित नयाँदिल्लीमा रहँदै आएका छन् भने उनलाई सुपर्दगी गर्न बङ्गलादेशले भारतसँग आग्रह गर्दै आएको छ।
शुक्रबार युनुसले सामाजिक सञ्जालमा मोदीसँग हात मिलाउँदै गरेको तस्बिर पोस्ट गरेका छन् भने बैठकपछि बोल्दै उनका प्रेस सेक्रेटरी शफिकुल आलमले बैठक रचनात्मक, फलदायी र उपयोगी भएको बताएका छन् । थाइल्याण्डमा भएको क्षेत्रीय शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । युनुसले एक दशकअघि मोदीलाई आफ्नो फ्रेम गरिएको तस्बिर उपहार दिएको दुई नेताको तस्बिर पनि सेयर गरेका थिए ।
भारतीय नेताले सन् २०१५ मा समाजका गरिबलाई सहयोग गर्ने यस कार्यका लागि माइक्रो फाइनान्सका अग्रणीलाई स्वर्ण पदकद्वारा सम्मान गरेका थिए । भेटबारे नयाँदिल्लीबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । उनका प्रेस सेक्रेटरीका अनुसार युनुसले मोदीसँग ढाकाको लामो समयदेखिको गुनासोको विषय पनि उठाएका थिए । भेटमा उनले निर्वासनबाट हसिनाको भडकाउपूर्ण टिप्पणी भएको बताएका थिए । भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया