बबरमहलमा संयुक्त कला प्रदर्शनी

नेपालखोज २०८१ चैत २२ गते १३:५९

काठमाडौं । बबरमहलस्थित नेपाल कला परिषद्मा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गरेका छन् । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् ।

प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएको छ । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ ।

कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताइन् । उनले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाइन् । उनका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएको छ ।

कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतारेका छन् । पौभा कलालाई मूलधारमा समेट्दै अघि बढाएकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेको छ । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उनका कृति उत्कृष्ट देखिएका छन् । उनको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।

कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेको बताए ।

कलाकार सगुन शाह सिंहको कलामा भगावन् गणेशका अनेक भावहरु समेटिएका छन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएको उनले बताए ।

ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताए । वरिष्ठ कलाकार शशिविक्रम शाह नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणी गरे । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार पद्मावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताए । प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेको बताए ।

प्रतिक्रिया