अप्रिल ७ तारिख भित्रै सदस्य बन्न एनआरएन अभियन्ताको अपिल

काठमाडौं । एनआरएन अभियन्ताले यही अप्रिल ७ तारिख भित्र गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्य बन्न आग्रह गरेका छन् । उनीहरूले आपसी विवाद त्यागी काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनमा सहभागी हुन पनि अपिल गरे ।
शुक्रबार भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले समय निकै कम रहेकाले अप्रिल ७ तारिख भित्र उच्चस्तरीय समितिको पोर्टलमा गएर सदस्य बन्न आग्रह गरे। उनले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)लाई आफूले बनाएको सदस्यको डेटा उच्चस्तरीय समितिलाई पठाइ दिन पनि आग्रह गरे ।
उच्चस्तरीय समितिकी सदस्य सचिव रबिना थापाले अप्ठेरो परिस्थितिमा पनि झन्डै १२ हजारले सदस्यताका लागि निवेदन दिनु उत्साहजनक भएको बताइन् । उनले विदेशमा नेपाली अलपत्र पर्दा सरकारभन्दा पहिला एनआरएनएले हेर्नु पर्ने अवस्था रहेको भन्दै अबको एनआरएनएमा युवा र महिलालाई थप भूमिका दिइनु पर्ने जनाइन् । उनले वंशजको नपाई नागरिकताको निरन्तरता अहिलेको आवश्यकता भएको बताउँदै महाधिवेशनमा नागरिकताको विषय पनि उठाइने जानकारी दिइन् ।
सदस्य सचिव थापाले एमआइएसले मार्च ३०, २०२५ मा सबै सदस्यको पदावधि सकिएको देखाउने काम गलत भएको बताइन् । उनले डेलिगेट्स दर्ता खुली सकेको बताउँदै डेलिगेट्स बन्न चाहने सबैले उच्चस्तरीय समितिको वेबसाइटमा गएर निवेदन दिन आग्रह गरिन् ।
एनआरएनए अभियन्ता महेश श्रेष्ठले एनआरएनएको अहिलेको अवस्थाप्रति सबै दुःखी भएको बताए । उनले सबै पक्षलाई मिलेर एकता गर्नुपर्छ भनेर आफूले अधिकतम प्रयत्न गरेको जनाउँदै विधानसम्मत एकता गर्नुपर्ने बताए ।

प्रतिक्रिया