विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

डडेल्धुरा । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो ।
विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउछन् ।
चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताए । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ ।
चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन–८ का लक्ष्मी भट्टले बताए ।
नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरु घर फर्किन चलन छ । उनीहरुको आगमनले गाउँमा चहलपहल पनि बढेको उहाँले बताए । विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ । विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ ।
विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ ।

प्रतिक्रिया