सूर्यविनायक-धुलिखेल सडकको काम समयमै नसकिने

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक-धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ ।
उनले विविध कारण आयोजनाको समय लम्बिने बताएकी हुन् । अधिकारीका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रूख, बिजुलीका खम्बा तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा-धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ ।
उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छभने अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ । आयोजनाका अनुसार हालसम्म सूर्यविनायक-साँगा खण्डमा ३५ प्रतिशत र साँगा-धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ ।
समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ । अधिकारीका अनुसार साँगा क्षेत्रमा ठूलो घुम्ती तथा सडक तल र माथि भिर भएका कारण निर्माणकार्य जोखिमपूर्ण अवस्थामा रहेकाले पनि केही समय ढिलाइ हुन गएको तथा कामले तीव्रता नपाएको हो । साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने-आउने लेन तल-माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन डीपीआरले समेत देखाएको थियो ।
उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले साँगामा सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने देखाएको थियो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
साँगा धुलिखेल खण्डअन्तर्गत धुलिखेलका बीचमा सडक पक्की गर्ने कामको सुरआत गरिएको छ । उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ ।
अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०र२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५-२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो ।
यस्तै, विसं २०२१ मा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेका थिए । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ला भएपछि यस राजमार्गमा सवारी चाप बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामो दूरीका सवारी साधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

प्रतिक्रिया