संयुक्त राष्ट्र संघका ६ जना विशेष प्रतिवेदकद्वारा कडा भत्र्सना, भुटानका राजनीतिक बन्दीलाई तत्काल रिहाइको माग

नेपालखोज २०८१ चैत २३ गते १२:३३

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकद्वारा हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लङ्घन, विशेष गरी राजनीतिक बन्दीलाई गैर कानुनीरूपमा लामो समयसम्म बन्दी बनाइएको व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ ।

उक्त प्रतिवेदनलाई ग्लोबल क्याम्पेन फर द रिलिज अफ पलिटिकल प्रिजनर्स इन भुटान र ह्युमन राइट्स वाचले स्वागत गरेका छन् । प्रतिवेदनमा मनपरी गिरफ्तारी, यातना, अन्यायपूर्ण मुद्दा चलाउने अभ्यास, र अमानवीय जेलका अवस्था जस्ता गम्भीर दुव्र्यवहारको पर्दाफास गरिएको छ । वर्षौँसम्म भुटानले आफूलाई एक शान्तिपूर्ण हिमाली राष्ट्रको रूपमा चित्रण गर्दै आएको छ, तर यो प्रतिवेदनले त्यसको ठ्याक्कै उल्टो तस्बिर देखाएको छ।

विशेष गरी ल्होत्साम्पा जातीय समूहका थुप्रै राजनीतिक बन्दीलाई प्रजातन्त्र र मानवअधिकारको पक्षमा आवाज उठाएको भन्दै अनुचित रूपमा जेल हालिएको प्रतिवेदनमा उल्लेख छ । उनीहरू अमानवीय व्यवहार, लामो समयको पीडा, चिकित्सकीय सेवाको अभाव र न्यूनतम कानुनी सुरक्षाबाट वञ्चित छन् ।

प्रणालीगत दमनको रूपरेखा
प्रतिवेदनमा भुटानी अधिकारीले आतङ्कवाद विरुद्धको कानुन र राष्ट्रिय सुरक्षासम्बन्धी प्रावधानको दुरुपयोग गरी राजनीतिक विपक्षीलाई दमन गर्ने गरेको, राजनीतिक बन्दीलाई प्रायः मुद्दा नचलाईकनै लामो समय जेलमा राखिने, जबरजस्ती स्वीकारोक्ति गर्न बाध्य पारिने र आफ्ना परिवारसँग सम्पर्क राख्न पनि रोक लगाइने गरेको उल्लेख छ । मानवअधिकारको उल्लङ्घन र भुटानी जेलको अमानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राजबन्दीलाई क्षमा दान दिई रिहा गर्न भुटान नरेशलाई आग्रह पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय कानुनको उल्लंघन
भुटानले अहिले सम्म नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (क्ष्ऋऋएच्), आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि र यातनाविरुद्धको महासन्धि (ऋब्त्) जस्ता प्रमुख अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर गरेको छैन। यद्यपि प्रचलित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनहरू पालना गर्न भुटान बाध्य छ । प्रतिवेदकले विश्व मानवअधिकार घोषणापत्र तथा सन् २०१९ मा गरिएको युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) का सिफारिसलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उक्त प्रतिवेदनमा ३२ राजनीतिक बन्दीमध्ये १९ जनाको केस दस्ताबेज गरिएको छ, तर सबै ३२ जना बन्दीका लागि न्यायको माग गरिएको छ ।

राजनीतिक बन्दीलाई तत्काल रिहा गर्न आह्वान
भुटानका राजनीतिक बन्दीको रिहाइका लागि विश्व अभियान (जीसीआरपीपीबी) ले सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड पालना गर्न भुटान सरकारलाई आग्रह गरेको छ । उक्त संस्थाले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार संस्था र लोकतान्त्रिक सरकारसहित सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई भुटानमा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घनको अन्त्यका लागि कूटनीतिक दबाब बढाउन आह्वान गरेको छ ।

जीसीआरपीपीबीका संस्थापक तथा ग्लोबल कोअर्डिनेटर राम कार्कीले यो प्रतिवेदनले भुटानका राजनीतिक बन्दीहरूले भोगेका अन्यायलाई प्रमाणित गरेको बताए । ‘अब उनीहरूको आवाज दबिनु हुँदैन। हामी पीडितहरू र उनीहरूका परिवारसँग ऐक्यबद्धता जनाउँदै सबै राजनीतिक बन्दीहरूको पूर्ण रिहाइ नहुँदासम्म सङ्घर्ष जारी राख्नेछौँ,’ कार्कीले भने ।
उनले सबै राजनीतिक बन्दी रिहा भई उनीहरूको नयाँ जीवन सुरु गर्न आवश्यक पुनः स्थापना कार्यक्रम सुनिश्चित नगरिँदासम्म आफूहरूलाई विश्व व्यापी समर्थन प्राप्त भई रहने विश्वास पनि व्यक्त गरे ।

हाल भुटानका विभिन्न जेलमा रहेका राजबन्दीको नाम यस प्रकार छः
१ रिन्जिन वाङ्दी
२ तेन्जिङ गावा जाङ्पो
३ किन्ले ग्याल्छेन
४ किन्ले पेन्जोर
५ रामलाल रावत
६ विष्णु राई
७ मधुलाल बुढाथोकी
८ एम.बी. भुजेल
९ लोक बहादुर घले
१० शाह बहादुर गुरुङ
११ कुमार राई
१२ प्रेम राई
१३ गङ्गा राम ढकाल
१४ भक्त बहादुर राई
१५ मोनी कुमार प्रधान
१६ प्रकाश मगर
१७ हर्क बहादुर गुरुङ
१८ डम्बर सिंह पुलामी
१९ योगी प्रसाद सुब्बा
२० कुमार गौतम
२१ हस्त बहादुर राई
२२ सुकमान मगर
२३ बिर्ख बहादुर क्षेत्री
२४ गोविन्द निरौला
२५ नन्दलाल बस्नेत
२६ ओमनाथ अधिकारी
२७ खगेन्द्र खनाल
२८ आइता राज राई
२९ सनमान गुरुङ
३० चतुरमान तामाङ
३१ चन्द्र राज राई
३२ भीम बहादुर राई

प्रतिक्रिया