सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ । सन् २०२३-२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ५० हजार रहेको छ ।
उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछ । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले ६ हजार हात पार्नेछन् । प्रतियोगिताको नियम अनुसार नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६औँ वरियताका पशुपति शर्मासँग खेल्नेछन् । नेपाल नम्बर २ गल्फर निरज तामाङ र १५औँ वरियताका सूर्य प्रसाद शर्माबीच पहिलो चरणको खेल हुनेछ । अर्को खेलमा तेस्रो वरियताका दिनेश प्रजापतिको सामना १४औँ वरियताका रमेश अधिकारीले गर्नेछन् ।
चौथो वरियताका रवि खड्का र १३औँ वरियताका टंक बहादुर कार्कीबीच खेल हुनेछ। यस्तै १२औँ वरियताका प्रदीप कुमार लामाले ५ औं वरियताका सञ्जय लामाको सामना गर्न छन् । यसैगरी छैटौं वरियताका जयराम श्रेष्ठ र ११औँ वरियताका तोरण विक्रम शाही, सातौं वरियताका रामे मगरले १०औँ वरियताका दीपक मगर, तथा आठौं वरियताका धन बहादुर थापाले नवौं वरियताका भुवन कुमार रोक्कासँग खेल्ने तालिका रहेको छ। पहिलो चरणका विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धा १८ होलको हुनेछ। फाइनल भने ३६ होलको हुनेछ । पहिलो चरणको खेल भोलि हुनेछ । क्वाटरफाइनल र सेमिफाइनल बुधबार, तथा फाइनल र तेस्रो स्थानको लागि विहिवार प्रतिस्पर्धा हुनेछ ।
‘विगतका वर्षमा उनीहरूको निरन्तर सहयोगप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छौं । उनीहरूको प्रतिबद्धता बिना सूर्य नेपाल गल्फ टुरले आजको उचाइ हासिल गर्न सक्ने थिएन । म यस साता आयोजना हुने म्याच प्ले हेर्न विशेष उत्साहित छु । देशमा गल्फको विकासप्रति सूर्य नेपालको निरन्तर समर्पणका लागि हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।’
भोलिको खेल तालिका
भुवन नगरकोटी र पशुपति शर्मा
निरज तामाङ र सूर्य प्रसाद शर्मा
दिनेश प्रजापति र रमेश अधिकारी
रवि खड्का र टंक बहादुर कार्की
सञ्जय लामा र प्रदीप कुमार लामा
जयराम श्रेष्ठ र तोरण बिक्रम शाही
रामे मगर र दीपक मगर
धन बहादुर थापा र भुवन कुमार रोक्का

प्रतिक्रिया