शुक्रबार, वैशाख १२, २०८२

नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

नेपालखोज २०८१ चैत २५ गते १२:५२

काठमाडौं । पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव-न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि वैशाख १७ गतेसम्म महोत्सव सञ्चालन हुने पठाओ नेपालले जानकारी दिएको छ ।

महोत्सवका अवसरमा पठाओ नेपालले काठमाडौं उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजना ल्याएको पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले बताइन् । कम्पनीले यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकिकरण गर्दै व्यवसायलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको जनाएको छ ।

नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सवपठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् । कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै काठमाडौं उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ ।

साथै, महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीले ५० बराबरको फेसबुक एड क्रेडिट जित्न सक्नेछन् । त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीमध्ये हरेक हप्ता एक जनाले १०० वटा निःशुल्क डेलिभरी भाउचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर जित्न सक्नेछन् ।

पठाओले व्यापारीहरूका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत उपलब्ध गराएको जनाएको छ । जसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्नेछन् । सहभागी हुन चाहने व्यापारीले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् वा ०-५९७०७९९ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया