नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
याे अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गरे । साथै उनले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गरे ।
याे अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गरे ।
समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नै कि कन्सेप्ट नेपाल प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गरे । यसैगरी वर्षभरिको कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र समेत उनले प्रदान गरे ।
याे अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पु¥याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गरेकोे भूमिका तथा योगदानको प्रशंसा गरे । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई सेन्टर फर हेल्थ एक्सीलेन्सको रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गरे । अस्पतालले विद्यमान सेवालाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्र पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
याे अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण गरे । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गरेका थिए ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गरे । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उनले बताए ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीले स्वागत गान प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया